काठमाडौं, साउन ७ :

पोखरा बाटुलेचौरस्थित ‘लिची बगान’ को १३४ रोपनी जग्गा हडप्ने प्रकरणमा संलग्न रहेको आशंकामा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष तथा पूर्वभूमि व्यवस्थामन्त्री रञ्जिता श्रेष्ठसँग अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज बयान लिएको छ । 

घुस डिलको अडियोमा श्रेष्ठको आवाज रहेको आशंकामा ‘भ्वाइस टेस्ट’ समेत लिइँदैछ। अडियोमा सुनिएको आवाजसँग श्रेष्ठको मेल खान्छ/खाँदैन भनेर दोहोरो परीक्षणका लागि बोलाइएको हो।

यसअघि गुप्ता र लामा दुवैको पनि बयान लिइसकेको अख्तियारले अडियो परीक्षणका लागि विधि विज्ञान प्रयोगशालामा पठाएको थियो ।

मालपोत कार्यालय र भूमि समस्या समाधान आयोगमा आफू अनुकूल व्यक्तिहरू नियुक्त गराएर जग्गा हडप्न खोजिएको योजनामा श्रेष्ठ बिचौलियाको भूमिकामा रहेको समेत आरोप लगेको छ।

पूर्वसंघीय मामिला मन्त्री राजकुमार गुप्ता र बिचौलिया सुजन लामाबीच भएको घुस ‘डिल’ को अडियो सार्वजनिक भएपछि  अख्तियारले अनुसन्धान तीव्र पारेको छ।