भक्तपुर, साउन ७ :

प्रत्येक साउन कृष्ण चतुर्दशीका दिन नेवार समुदायमा मनाइने घण्टा कर्ण अर्थात् गठामङ्गल पर्व आज भक्तपुरका नेवार समुदायले भव्य रूपमा उपत्यकामै पृथक शैलीमा मनाएका छन् ।

नेवार समुदायले परापूर्वकालदेखि मनाउँदै आएको यसपर्वमा गठामङ्गल नाम गरेको नरभक्षी राक्षस मारिएको सम्झना स्वरूप आज साँझ भक्तपुरको टोलटोलबाट हरियो नर्कट, निगालो र गहुँको छ्वालीबाट तीनखुट्टे राक्षसको रूप बनाएर टोलटोल घुमाउँदै दोबाटो र चौबाटोमा पुर्‍याइ जलाएर पर्व मनाएको हो ।

भक्तपुरको भेलुखेल र दत्तात्रयमा भने पृथक शैलीमा यो पर्व मनाउने परम्परा रहेको छ । निगालोको चोयाबाट पूर्ण राक्षसरूपी गठामङ्गल बनाई बाहिर कपडाले मोडेर विभिन्न रङ लगाई राक्षसको स्वरूप बनाएर टोलटोलमा घुमाएर परम्पराअनुसार जगाति लगेर विसर्जन गरिएको छ । यसप्रकारको राक्षसरूपी अन्य कतै पनि नभएको र यहाँ पृथक शैली रहेको स्थानीय भेलुखेलका बाबुरत्न द्यौलाले बताए । 
    
भक्तपुरका इतिहासविद् एवं संस्कृतविद् डा पुरुषोत्तमलोचन श्रेष्ठ सातौँ शताब्दीदेखि चल्दै आएको यो परम्परा महादेवसँग जोडिएको बताउछन । उनले महादेवलाई मनपराउने राक्षसका रूपमा गठामङ्गल वीर शैव सम्प्रदायअन्तर्गत रहेको बताए । 
    
उनका अनुसार आजको दिनलाई महादेव उत्पत्तिको दिनसमेत मानिने गरिन्छ । आजदेखि रोपाइँ सकेर रमाइलो गर्ने, चाडबाडको परम्परा सुरू हुने दिनका रूपमा पनि मानिने डा श्रेष्ठले बताउछन् । आज केटाकेटीले बाटोमा डोरी टाँगेर पैसा (जगात्) माग्ने र साँझ राँको बाली उक्त राक्षसको प्रतीकलाई घिसार्दै जलाउने प्रचलन छ ।