भक्तपुर, साउन ८ :

भक्तपुरको  बोडेमा दुई जना बालिका झुन्डिएको अवस्थामा मृत फेला परेका छन् ।

मध्यपुर ठिमी नगरपालिका–८ बोडेमा आज विहान पौने ७ बजे बोडे सिन्टिटार स्थित इट्टा र फलामले बनेको २ तले घरको भुईँ तलामा उनीहरुलाई झुण्डिएको अवस्थामा फेला पारिएको हो ।

बोडेमा डेरा गरी बस्ने जिल्ला सुर्खेत पञ्चपुरी नगरपालिका–८ घर भएकी १७ वर्षीय मेनुका कँडेल र उनकी बहिनी १५ वर्षीय सृजना कँडेल डेरामै झुण्डिएको अवस्थामा मृत फेला पारिएको प्रहरीले जनाएको छ । 

दुई साताअघिमात्र ती किशोरीहरु डेरामा बस्न आएका  घरधनीले बताएका छन् । उनीहरु दिदिबहिनी भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृतक दिदीबहिनी घरबाट भागेर आएको खुल्न आएको छ ।  

मृतकको आफन्त सम्पर्कमा आइनसकेकाले उनीहरु आएपछि घटनास्थलको मुचुल्का हुने  प्रहरी वृत्त थिमिका प्रमुख प्रहरी नायब उपरीक्षक नवराज ढुङ्गानाले बताउनुभयो ।

घटनास्थलमा अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटिई गई थप अनुसन्धान कार्य भइरहेको छ ।