काठमाडौं, साउन ८ :

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले समृद्धि मुठीभर मानिसको लागि नभई आम जनताको लागि हुनुपर्ने बताएकी छन्। काठमाडौंमा आज आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीतिक स्थायित्वले नै देशभित्र लगानीको वातावरण निर्माण गर्ने बताइन् ।

नेपालको समृद्धि केवल वर्तमानको आर्थिक सूचकाङ्कले मात्रै मापन गर्न नसकिने भन्दै यसलाई दिगो तुल्याउन राजनीतिक दृढता, सामाजिक समावेशिता, संविधानप्रति प्रतिबद्धता, राष्ट्रिय स्वाभिमानसँग निरन्तर जोडिरहनुपर्ने बताए । समृद्धिको मार्ग अरुको मोडल अनुशरण गर्ने मात्र होइन आफ्नै समाजका आवश्यकता, श्रोत साधन, सन्दर्भ र सम्भावनालाई गहिरो रुपमा विश्लेषण गरेर नै तय गर्नुपर्ने बताइन्। देशभित्र लगानीको वातावरण बनाउने सबैभन्दा ठुलो कारक राजनीतिक स्थायित्व र विश्वासको वातावरण  भएको पनि बताइन्।  लगानीसँगै रोजगारी, समावेशिता, ग्रामीण विकास, महिला उत्थानशीलता, वातावरणीय जिम्मेवारी पनि सुनिश्चित हुनुपर्ने बताइन् ।

पूर्वराष्ट्रपति भण्डारीले भनिन्, ‘नेपालको समृद्धि केबल वर्तमानको आर्थिक सूचकाङ्कले मात्रै मापन गर्न सकिँदैन । बरु यसलाई दिगो तुल्याउन हाम्रो राजनीतिक दृढता, सामाजिक समावेशिता, संविधानप्रति प्रतिवद्धता, राष्ट्रिय स्वाभिमानसँग निरन्तर जोडिरहनुपर्दछ । लगानी प्रवद्र्धन तथा अभियानको एउटा महत्वपूर्ण माध्यम अवश्य हो । जसले आत्मनिर्भर र समृद्ध नेपाल निर्माणको लक्ष्यलाई सार्थक तुल्याउन मद्दत गर्दछ । अब हामीले लगानीको ढोका खोल्ने कुरा गर्दछौं भने त्यो ढोका केबल पुँजी र मुनाफाका लागि मात्र खोलिएको होइन । बरु त्यो ढोका सम्भावना र विश्वासका लागि पनि खोलिएको हो भन्ने ठान्नुपर्दछ । हामीले हाम्रो समृद्धिको मार्ग अरुको मोडल अनुशरण गर्ने मात्र होइन आफ्नै समाजका आवश्यकता, श्रोध साधन, सन्दर्भ र सम्भावनालाई गहिरो रुपमा विश्लेषण गरेर नै तय गर्नुपर्दछ । देशभित्र लगानीको वातावरण बनाउने सबैभन्दा ठूलो कारक राजनीतिक स्थायित्व र विश्वासको वातावरण नै हो । नीतिगत स्पष्टता, विधिको शासन, पारदर्शी प्रशासन यि सबै आवश्यक छन् । तर त्यसको आधार बनाउने कार्य राजनीतिक नेतृत्वको काँधमा छ । हामीले के बिर्सिनु हुँदैन भने समृद्धि केबल मुठीभर मानिसहरुको लागि होइन,आम जनताको लागि हुनुपर्दछ । लगानीसँगै रोजगारी, समावेशिता, ग्रामिण किवास, महिला उत्थानशिलता, वातावरणीय जिम्मेवारी पनि सुनिश्चित हुनुपर्दछ ।   ’

पूर्वराष्ट्रपति भण्डारीले नेपाल अब स्थायित्व, परिवर्तन, विकासको नयाँ युगमा प्रवेश गरिसकेको भन्दै नेपालमा लगानी गर्न आह्वान गरिन् । आर्थिक समृद्धिको यात्रालाई सार्थक तुल्याउन सक्रियतापूर्वक अग्रसर बन्न पनि आग्रह गरिन् । समृद्धि अब सपना नभई संकल्प बन्नुपर्ने बताइन् । विश्वभर छरिएका नेपालीका बीचमा नेपालका उत्पादनलाई बजारीकरणको योजना बनाउनुपर्ने बताइन्। युवा उद्यमशिलता प्रवर्घनमा पर्याप्त ध्यान दिनुपर्ने खाँचो रहेको बताइन्।