केपी ओली नेतृत्वको वर्तमान सरकारप्रति नेपाली कांग्रेसभित्र असन्तुष्टि बढिरहँदा सभापति शेरबहादुर देउवाले शुक्रबार (भोलि) बिहान पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बोलाएका छन्।
देउवा निवास बुढानिलकण्ठमा बिहान ९ बजेका लागि बैठक डाकिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्।
बैठकमा कांग्रेसका तर्फबाट सरकारमा रहेका मन्त्रीहरूसमेत सहभागी हुनेछन्। पछिल्लो समय कांग्रेसभित्र प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारप्रति चर्को आलोचना हुँदै आएको छ।
विशेषत : सरकारमा मौलाउँदो भ्रष्टाचार, कामकारबाहीमा समन्वयको अभाव, निर्णय प्रक्रियामा कांग्रेसको भूमिका कमजोर देखिनु, र गठबन्धन सहयोगी दलहरूसँग असन्तुलित सम्बन्धजस्ता विषयमा नेताहरू असन्तुष्ट छन्।
यसै सन्दर्भमा देउवाले मन्त्रीहरू समेत सहभागी हुने गरी पदाधिकारी बैठक बोलाएका हुन्। बैठकमा सरकारसँगको सम्बन्ध, कांग्रेसको भूमिका र आगामी रणनीतिबारे विशेषगरी छलफल हुने बताइएको छ।