
भारतको राजधानी नयाँदिल्लीस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा कुवेत जान लागेका ४७ नेपाली महिलालाई नेपाल फकाईएको छ ।
दिल्ली विमानस्थलबाट एनओसीविना कुवेत जान लागेका महिलाहरुलाई दिल्लीस्थित नेपाली दूतावाससितको समन्वयमा नियन्त्रणमा लिई स्थलमार्ग हुँदै बिहीबार राति रुपन्देही पुर्याइएको छ ।
दिल्लीस्थित दूतावासमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक प्रकाश मल्लसहित कर्मचारीको टिमले महिलाहरुलाई सुनौली नाका हुँदै रुपन्देही पुर्याएर प्रशासनको जिम्मा लगाएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिए । घिमिरेका अनुसार महिलाहरुलाई प्रहरीले काठमाडौं लैजाँदै छ ।
त्यसैगरी गृहमन्त्री रमेश लेखकले पक्राउ परेका महिलाहरुको विषयमा कडा अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएका छन् । यस विषयमा गृहमन्त्री लेखकले मानव बेचबिखन ब्युरोलाई आवश्यक छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिएको गृह मन्त्रालयले जनाएको छ ।
गृहमन्त्री लेखकले वैदेशिक रोजगारीमा अवैध रुपमा जाने विषयको गहन अनुसन्धान गर्न निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।