काठमाडौं, साउन ९ :

सिंगापुरमा हुने विश्व एक्वेटिक्स च्याम्पियनसिपमा नेपालबाट ४ पौडी खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । त्यसका लागि ४ खेलाडीसहित ६ सदस्यीय नेपाली टोली शुक्रबार राति ११ बजे सिंगापुर प्रस्थान गर्नेछ ।

प्रतियोगितमा समान २-२ पुरुष/महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । चारै खेलाडीले समान २-२ स्पर्धामा भाग लिनेछन् ।

पुरुषमा इर्भिन श्रेष्ठले एक सय र दुई सय मिटर फ्रिस्टायल तथा अजलकाजी ताम्राकारले ५० मिटर फ्रिस्टायल र ५० मिटर बटरफ्लाइमा प्रतिस्पर्धा गर्नेछन् । महिलामा ओलम्पियन डुवाना लामाले दुई सय मिटर फ्रिस्टायल र एक सय मिटर ब्रेस्टस्ट्रोक तथा आर्या महर्जनले ५० र एक सय मिटर फ्रिस्टायलमा सहभागिता जनाउनेछन् ।

व्यवस्थापकमा नेपाल पौडी संघका सदस्य विकास शर्मा तथा प्रशिक्षकमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पौडी मुख्य प्रशिक्षक शंकर कार्की छन् । जुलाई ११ देखि सुरु भइसकेको प्रतियोगिता अगस्त ३ तारिखसम्म चल्नेछ । नेपालको खेल भने जुलाई २७ देखि मात्र सुरु हुने नेपाल पौडी संघका सचिव गंगालाल गोलेले जनाएका छन् ।

जुलाई २७ मा अजलले ५० मिटर बटरफ्लाई, २८ मा डुवानाले एक सय मिटर ब्रेस्टस्ट्रोक र इर्भिनले दुई सय मिटर फ्रिस्टायल तथा २९ मा डुवानाले २ सय मिटर फ्रिस्टायलमा खेल्ने तालिका छ ।

जुलाइ ३० मा इर्भिनले एक सय मिटर फ्रिस्टायल, ३१ मा आर्याले एक सय मिटर फ्रिस्टायल, अगस्त १ मा अजलले ५० मिटर फ्रिस्टायल र २ मा आर्याले ५० मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्नेछन् । टोली अगस्त ४ तारिखमा स्वदेश फर्किनेछ ।

टोलीलाई राखेपका सदस्य-सचिव टंकलाल घिसिङ, पौडी संघका अध्यक्ष जगतमान श्रेष्ठ, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, अभिभावकलगायतले शुक्रबारै एक कार्यक्रमबीच बिदाइ गरे ।

त्यस अवसरमा सदस्य-सचिव घिसिङले खेलाडीलाई उच्च मनोबलका साथ प्रतिस्पर्धा गर्न सुझाए । अध्यक्ष जगतमान श्रेष्ठले खेलाडीबाट कम्तीमा २ राष्ट्रिय कीर्तिमानको अपेक्षा गरेको बताउँदै पौडीको विकास र विस्तारमा अभिभावकले पुर्‍याएको योगदानको प्रशंसा गरे ।

मुख्य प्रशिक्षक कार्कीले प्रतियोगिताले २०औं एसियाली खेलकुदको तयारीमा पनि मद्दत पुग्ने बताउँदै खेलाडीले उच्च प्रदर्शन गर्ने विश्वास व्यक्त गरे ।

बिदाइपछि विश्व एक्वेटिक्समा सहभागी हुने नेपाली टोली ।