काठमाडौं, साउन ९ :

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाल र थाइल्यान्डका बीचमा कैयौं सांस्कृतिक समानता रहेको उल्लेख गरेकी छन् । राजधानीमा शुक्रबार आयोजित ‘थाइ फ्लेभर्स् इन द हिमालज्’ ट्रेड फेयरको उद्घाटन गर्दै उनले नेपाल र थाइल्यान्डबीच ऐतिहासिक सम्बन्ध रही आएको र दुई देशबीचमा सांस्कृतिक लगायतका धेरै क्षेत्रमा समानता रहेका बताइन् ।

उनले दुई देशबीच पाहुनाको स्वागत, बहुधार्मिक र बहुसांस्कृतिक मूल्यमान्यताको सम्मान तथा सहिष्णुता तथा पर्यटन र यसमार्फत प्राप्त गर्न सकिने समिृद्धिलगायत समानताको चर्चा गरिन् । पर्यटन दुई देशका बीचको साझा समृद्धि एवं सहकार्यको क्षेत्र हुनसक्ने स्पष्ट गर्दै राणाले नेपालमा पनि पर्यटनको अथाह सम्भावना रहेकाले पर्यटन एवं हस्पिटालिटीका क्षेत्रमा लगानी गर्न थाई लगानीकर्तालाई आग्रहसमेत गरिन् ।

नेपाल उद्यमशीलताका क्षेत्रमा अघि बढिरहेको र हस्तकलालगायत कैयौं वस्तुको उत्पादन विश्व बजारको आकर्षण पनि बनेको भन्दै उनले नेपालमा लगानी गर्न थाई उद्योगी व्यवसायीहरुलाई आग्रह गरिन् । नेपाल र थाइल्यान्ड कहिल्यै पनि कुनै उपनिवेशमा नरहेका स्वतन्त्र र स्वाधीन राष्ट्र रहेका प्रसंग उल्लेख गर्दै उनले प्रधानमन्त्री केपी ओलीले हालै थाइल्यान्डको भ्रमण गरेको र त्यस क्रममा सरकारी तथा निजी क्षेत्रमा  सहमति र समझदारीहरु भएका पनि स्मरण गरिन् ।

उक्त भ्रमणबाट दुई देशबीचको सम्बन्ध थप प्रगाढ बनेको र आगामी दिनमा यस प्रकारका उच्चस्तरीय भ्रमणलाई निरन्तरता दिनुपर्ने पनि परराष्ट्रमन्त्री राणाले बताइन् । नेपालस्थित थाई दूतावास र भाटभाटेनी सुपरमार्केटद्वारा फेयरको आयोजना गरिएको हो ।