
नेपाली खेलकुद क्षेत्रकै सबैभन्दा प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८१ आगामी भदौ २९ गते पोखरामा हुने भएको छ ।
नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले शुक्रबार अवार्ड घोषणा कार्यक्रममा पहिलोपल्ट एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड काठमाडौंबाहिर लैजान लागेको पत्रकार सम्मेलनमार्फत जनाएको हो । २०६० सालदेखि निरन्तर आयोजना हुँदै आएको यो अवार्ड २२ औं संस्करण हो ।
अहिलेसम्म उपत्यकाभित्र मात्र अवार्ड आयोजना हुँदै आएको थियो । तर स्पोर्ट्स अवार्डलाई देशव्यापी पुर्याउने उद्देश्यले पोखरामा आयोजना गर्न लागिएको मञ्चका महासचिव अञ्जन खड्काले जानकारी दिए । पोखरा भ्रमण वर्षको अवसरमा २२औं संस्करण हुने भएको छ ।
पत्रकार सम्मेलनमा खेलकुद पत्रकार मञ्च र अवार्डको मुख्य प्रायोजक गोल्छा ग्रुपको पल्सर मोटरसाइकलसँग पाँच वर्षको सम्झौता नवीकरण भएको छ । यसका मञ्चका अध्यक्ष नीरञ्जन अधिकारी र गोल्छा ग्रुपका प्रबन्धक निर्देशक अभिमन्यु गोल्छाबीच सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।
४० लाखभन्दा माथिको सम्झौता भएको उक्त पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । नगद प्रायोजनमा गत वर्षको भन्दा ३३ प्रतिशत वृद्धि गरिएको गोल्छा ग्रुपका प्रबन्धक निर्देशक अभिमन्यु गोल्छाले जानकारी दिए । गोल्छा ग्रुपका प्रबन्धक निर्देशक अभिमन्युले मञ्च र गोल्छा ग्रुपबीचको यो सहकार्य नेपालमा लामो रहेको उल्लेख गर्दै आपसमा विश्वास, भरोसा र खेलकुदको माध्यमबाट देशलाई एकतामा बाँध्ने उद्देश्यअनुरूप सम्झौताको १७औं वर्षमा पुगेको बताए ।
देशका खेलाडीलाई सम्मान गर्ने अभियानमा निरन्तर सहकार्य गर्न पाउँदा गोल्छा ग्रुप धेरै खुसी र उत्साहित रहेको उनी बताउँछन् ।
अवार्डका लागि मञ्च र गोल्छा ग्रुपबीचको सहकार्य भएको यो १७औं वर्ष हो । मञ्चका अध्यक्ष अधिकारीले पछिल्ला केही वर्षदेखि अवार्डलाई देशका विभिन्न सहरमा लैजाने प्रयास गरिरहेको उल्लेख गर्दै यसपल्ट मञ्च र प्रायोजकको आपसी समझदारीमै पोखरामा आयोजना गर्न लागिएको बताए । उनले खेलकुदमा राम्रो सम्भावना बोकेका सहरमा यो अवार्ड आयोजना गर्न योजना रहेको पनि उल्लेख गरे ।
नेपाली खेलकुदमा २०८१ सालभर उच्च प्रदर्शन गर्ने खेलाडका साथै प्रशिक्षक र खेलकर्मी मनोनयनमा पर्नेछन् । पल्सर स्पोर्ट्स अवार्ड २०८१ मा वर्ष उत्कृष्ट खेलाडी पुरुष, वर्ष उत्कृष्ट खेलाडी महिला, युवा वर्ष खेलाडी, वर्ष प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, टिम अफ दी इयर र एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड गरी कुल १० विधामा अवार्ड प्रदान गर्ने मञ्चले जनाएको छ ।
वर्ष खेलाडी पुरुष, महिला, युवा, प्रशिक्षक र पिपल्स च्वाइस विधाको मनोनयन केही दिनमै सार्वजनिक गरिने मञ्चका महासचिव अञ्जन खड्काले जानकारी दिए । मञ्चको खेलाडी छनोट समितिले तयारी पनि सुरु गरिसकेको छ ।
पाँच विधाको मनोनयनमा समान पाँचजना रहने आयोजकले उल्लेख गरेको छ । तर, अन्य पाँच विधा लाइफटाइम, स्पेसल, पारा एथलिट, टिम अफ दी इयर र एसियन स्पोर्ट्स जर्नालिस्टलाई भने अवार्ड कार्यक्रमकै दिनमा सम्मान गरिने भएको छ ।
भोटिङमार्फत हुने भएकाले पिपल्स च्वाइस विधाको मनोनयन छिटै सार्वजनिक गर्ने मञ्चका महासचिव खड्काले जानकारी दिए । वर्ष खेलाडी पुरुष, महिला, पिपल्स च्वाइस, प्रशिक्षक र युवा विधाका विजेतालाई एनएस २०० पल्सर मोटरसाइकल पाउनेछन् ।
अन्य विधाका विजेता तथा सम्मानित व्यक्तिले जनही एक लाख रुपैयाँसहित अवार्ड पाउनेछन् । पल्सर स्पोर्ट्स अवार्ड २०८१ को तयारीका लागि मञ्चका अध्यक्ष नीरञ्जन अधिकारीको अध्यक्षतामा मूल आयोजक समिति र विभिन्न उपसमिति गठन गरिएको मञ्चले जनाएको छ ।
गत वर्ष पुरुषमा क्रिकेटका रोहित पौडेल, महिलामा करातेकी एरिका गुरुङ, युवामा भारोत्तोलनका हेमन्त पाल र प्रशिक्षकमा करातेका कुशल श्रेष्ठले अवार्ड जितेका थिए । सर्वाधिक मत ल्याएर पिपल्स च्वाइसको अवार्ड भलिबलकी कविता भट्टले जितेकी थिइन् ।
स्पेसल अवार्डबाट भलिबलका प्रशिक्षक कुमार राई, पारा एथलिट सम्मानबाट पारा ओलम्पिककी कास्य विजेता पलेशा गोवर्धन, एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्डबाट दक्षिण कोरियाका ही डोङ जोङ र लाइफटाइम एचिभमेन्ट अवार्डबाट नेपाल क्रिकेट संघका पूर्वअध्यक्ष विनयराज पाण्डेलाई सम्मानित भएका थिए ।
एसियाली खेलकुदमा ऐतिहासिक कास्य जितेको महिला कबड्डी टोलीले टिम अफ दी इयरको पुरस्कार पाएको थियो ।