
काठमाडौं, साउन ११ :
संसदीय समितिले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको अवलोकन/अनुगमन गर्ने भएको छ ।
राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको आइतबार बसेको बैठकमा यसबारे जानकारी गराइएको हो । समितिले भोलि (सोमबार) दिउँसो २ बजे निर्माणाधीन क्रिकेट मैदानको अनुगमन गर्ने समिति सभापति ठाकुरप्रसाद गैरेले जनाए ।
अहिले मैदान स्तरोन्नति, प्यारापेट, फ्लड लाइट बनाउने काम भइरहेको छ । समयमा काम नसकेपछि निर्माण कम्पनीलाई हर्जाना भराएर काम भइरहेको छ ।
मैदानको प्यारापेट बनाउन बीकेओआई केसीडीसी बीजीको जोइन्ट भेन्चर कम्पनी (जेभी) र फ्लड लाइट जडानका लागि विशन ईश्वरी जेभीले गत फागुन १९ र २२ गते मन्त्रालय मातहतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयसँग सम्झौता गरेका थिए ।