काठमाडौं, साउन ११ :

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले जनअपेक्षाअनुरूप विद्युत् विकासलाई परिणाममुखी बनाउन सबै पक्षको सक्रिय सहभागिता आवश्यक रहेको बताएका छन् ।

सामुदायिक विद्युत् उपभोक्ता राष्ट्रिय महासंघ नेपालको २१औं वार्षिकोत्सवको अवसरमा काठमाडौंमा आइतबार आयोजित कार्यक्रममा उनले ‘हामीसँग पर्याप्त स्रोत छन्, केही चुनौती छन्, तर सबैले मिलेर अघि बढ्ने हो भने विद्युत् क्षेत्रलाई समृद्धिको आधार बनाउन सकिन्छ’ भने ।

उनले पछिल्लो समय भारत र चीनले विद्युत् क्षेत्रमा गरेको तीव्र प्रगतिको सन्दर्भ दिँदै नेपालले पनि त्यही लहर पछ्याउँदै गुणस्तरीय ऊर्जा पूर्वाधार विकासमा जोड दिनुपर्ने धारणा व्यक्त गरे ।

मन्त्री खड्काले सामुदायिक तहमा सञ्चालित विद्युत् परियोजनाहरूमध्ये सञ्चालन गर्न नसकेका संस्थाहरूलाई नेपाल विद्युत् प्राधिकरणमार्फत व्यवस्थापन गर्दै लैजानुपर्ने प्रस्ताव गरे । कार्यक्रममा उनले द्वन्द्वकालमा देशका विकट क्षेत्रहरूमा विद्युत् सेवा विस्तारका लागि सामुदायिक विद्युत् उपभोक्ता महासंघले खेलेको भूमिकालाई उच्च सम्मान गर्दै भविष्यमा पनि यस्ता प्रयासहरूलाई संस्थागत बनाउनुपर्नेमा जोड दिए ।

त्यस अवसरमा पूर्वऊर्जामन्त्री दीपक ज्ञवाली, विद्युत् नियमन आयोगका अध्यक्ष डा. रामप्रसाद धिताल, ऊर्जासचिव सुरेश आचार्य र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलगायत वक्ताले सामुदायिक विद्युत् प्रवर्द्धनमार्फत ग्रामीण विद्युतीकरणमा महासंघले पुर्‍याएको योगदानको प्रशंसा गरेका थिए ।

महासंघका अध्यक्ष नारायण ज्ञवालीले हालसम्म ३०० भन्दा बढी सामुदायिक संस्थामार्फत करिब ६ लाख घरधुरीमा विद्युत पहुँच पुर्‍याइएको जानकारी दिए । उनका अनुसार समुदायबाट संकलित झन्डै दुई अर्ब रुपैयाँबराबरको लगानीमा विद्युत् संरचना निर्माण गरिएको छ ।

कार्यक्रममा सामुदायिक विद्युतीकरणमा उल्लेखनीय योगदान पुर्‍याउने विभिन्न संस्था तथा सञ्चारकर्मीहरूलाई सम्मानित गरिएको थियो ।