
नेपालमा सञ्चालित मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना कार्यान्वयनलाई अमेरिकी सरकारले निरन्तरता दिने निर्णय गरेको छ। वैदेशिक सहायता समीक्षापछि यो निर्णय गरिएको हो। यसबारेमा अमेरिकी दूतावासले नेपाल सरकारलाई जानकारी गराएको छ।
५५० मिलियन अमेरिकी डलर (करिब ७५ अर्ब रुपैयाँ) बराबरको यो परियोजनामा अमेरिका ५०० मिलियन र नेपाल १९.७ मिलियन डलर सहयोग गर्दैछ। मुख्यतया विद्युत् प्रसारण लाइन, सबस्टेसन तथा सडक सुधारमा केन्द्रित यस परियोजनामा तीनवटा सबस्टेसन र १८ किलोमिटर लाइनको ठेक्का भइसकेको छ।
यसअघि ट्रम्प प्रशासनले वैदेशिक सहायता 'अमेरिका पहिलो' नीतिअनुसार समीक्षा गर्ने बताएको थियो र एमसीसीको सहयोग पनि रोकिएको थियो। पछि पुनर्मूल्यांकनपछि एमसीसीले नेपाललाई केही कार्य अघि बढाउन अनुमति दिएको थियो।
हालसम्म एमसीसीले नेपालमा परियोजना अघि बढाइरहेको छ भने थप ५ करोड डलर सहयोगबारे अमेरिकी निर्णय र नेपालको मन्त्रिपरिषद्को स्वीकृति अझै बाँकी रहेको अर्थ मन्त्रालयले जनाएको छ।