काठमाडौं, साउन ११ :

प्रधानमन्त्री केपी शर्मा ओलीले भक्तपुरको सूर्यविनायकमा नयाँ रंगशाला बनाउने विषयमा आज सूर्यविनायक नगरपालिका,राष्ट्रिय खेलकुद परिषद् (राखेप) र अखिल नेपाल फुटबल संघ (एन्फा)का नेतृत्वसँग छलफल गर्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलमा प्रधानमन्त्री ओलीले हालको काठमाडौँको दशरथ रंगशाला सानो भएकाले ठुलो रंगशाला निर्माणका लागि आवश्यक पर्ने जग्गा लगायत आवश्यक पूर्वाधारको प्रबन्धका लागि परामर्श गर्नुभएको हो ।

सो नगरपालिकाले वडा नम्बर ८,जगाते (पुरानो इँट्टा टायल कारखाना)स्थित दुई सय रोपनी जग्गा उपलब्ध गराउने प्रक्रिया छिटो अघि बढाउने प्रधानमन्त्री ओलीलाई अवगत गराएको छ ।

उक्त स्थलमा कम्तीमा ५० हजार दर्शकले खेल हेर्न मिल्ने खालको सुविधा सम्पन्न रंगशाला बनाउने प्रधानमन्त्री ओलीको घोषणा रहेको छ ।
छलफलमा नगरपालिकाका प्रमुख वासुदेव थापा, राखेपका सदस्यसचिव टङ्कलाल घिसिङ, एन्फाका अध्यक्ष पङ्कज विक्रम नेम्वाङ लगायत हुनुहुन्थ्यो ।