
थाइल्याण्ड र कम्बोडियाले पाँच दिनदेखि जारी द्धन्द्ध अन्त्य गर्न आज मलेसियामा वार्ता गर्दैछन् ।
जारी द्धन्द्ध अन्त्य गर्न वार्ताका लागि दुबै देशले हिजो सहमति गरेका हुन् ।
थाइल्याण्डका कार्यवाहक प्रधानमन्त्री फुमथाम वेचायाचाइको नेतृत्वमा प्रतिनिधिमण्डल वार्तामा सहभागी हुने थाइल्याण्डले घोषणा गरेको छ ।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत शनिबार दुबै देशका नेताहरुलाई फोन गरी तत्काल युद्धविरामको लागि दबाब दिएका थिए।
कम्बोडियाका प्रधानमन्त्री हुम मानेट पनि वार्तामा सहभागी हुने थाई सरकारले जानकारी दिएको मलेसियाले जनाएको छ ।
२४ जुलाईदेखि सिमा क्षेत्रमा झडप सुरु भएयता कम्तिमा ३३ जना सैनिक र सर्वसाधारणको मृत्यु भइसकेको छ । हजारौं थाई र कम्बोडियाली नागरिक विस्थापित भएका छन्।
थाइल्याण्ड र कम्बोडिया दुबै पक्षले पहिलो प्रहार गरेको भनी ए अर्कालाई आरोप लगाएका छन्। झडपको सुरुवात कम्बोडियाली सेनाले सीमा नजिक थाई सेनामाथि निगरानी गर्न ड्रोन प्रयोग गरेपछि भएको थाइल्याण्डको भनाई छ।
उता कम्बोडियाले पनि थाई सैनिकहरूले पहिल्यैको एक सहमति उल्लंघन गर्दै एक खमेर-हिन्दू मन्दिरतर्फ अगाडि बढेको आरोप लगाएको छ ।
थाइल्याण्ड र कम्बोडियाबीचको यो सीमा विवाद सय वर्षभन्दा बढी पुरानो हो। यो विवाद तब सुरु भएको थियो जब फ्रेन्च उपनिवेशकालपछि दुबै देशको सीमा निर्धारण गरिएको थियो।
त्यस बेलादेखि नै केही क्षेत्रहरूमा स्वामित्वको दाबीको विषयले विवाद जन्माइरहेको छ।