
संघीय संसद्अन्तर्गत विभिन्न पाँचवटा संसदीय समितिको बैठक आज (सोमबार) बस्दै छन् ।
संघीय संसद् सचिवालयका अनुसार कानुन, न्याय तथा मानव अधिकार समिति बैठकमा मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना (आव ०८२/८३-०८६/८७) को मस्यौदाका सन्दर्भमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग छलफल गरिने कार्यसूची छ ।
यसैगरी कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति बैठकमा ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२’ मा परेका संशोधनहरूमाथि संशोधनकर्तासँग छलफल गरिनेछ ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा ‘मिडिया काउन्सिल विधेयक, २०८०’ का विषयमा सरोकारवालासँग अन्तर्क्रिया गरिने कार्यक्रम तय छ । यस्तै सार्वजनिक लेखा समिति बैठकमा अर्थमन्त्री विष्णु पौडेलको उपस्थितिमा नेपाल सरकारका सबै सचिवहरूसँग छलफल गरिनेछ ।
र विधायन व्यवस्थापन समिति बैठकमा ‘जलस्रोत विधेयक, २०८१’ माथि दफावार छलफल गरिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।