
डेङ्गी सङ्क्रमितको सङ्ख्या बढेसँगै जिल्ला अस्पतालमा शय्या अभाव भएको छ ।
पर्वत अस्पतालमा परीक्षण गरिएका मध्ये छ सय ५० जनामा सङ्क्रमण पुष्टि भएको छ ।
पर्वत अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा हेमन्त बाँस्तोलाले डेङ्गुबाट पर्वतमा एक महिलाको मृत्यु भइसकेको बताउनुभयो।
अस्पताल सङ्क्रमितले भरिभराउ भएको छ । ६० शय्याको अस्पतालमा बिरामी भरिभराउ भएपछि अतिरिक्त शय्या खडा गरेर उपचार गरिएको छ ।
ग्रामीण क्षेत्रमा भन्दा बजारमा बिरामीको सङ्ख्या धेरै रहेको जनाइएको छ । सदरमुकाम कुश्मामा मात्र पाँच सयभन्दा बढीमा सङ्क्रमण पुष्टि भएको छ।
सङ्क्रमित मध्ये ४९ प्रतिशत पुरुष र ५१ प्रतिशत महिला रहेका छन् ।
यसैबीच, बिरामीलाई सर्वसुलभ रूपमा आकस्मिक सेवा उपलब्ध गराउने उद्देश्यले जिल्लाका विभिन्न पालिकामा ल्याइएका नौवटा एम्बुलेन्स प्रयोगविहीन छन् । हाल जिल्लाभर १० वटा एम्बुलेन्स सञ्चालनमा छन् ।
विभिन्न दातृ निकाय, भारतीय राजदूतावास र सरकारी सुविधामा ल्याइएका एम्बुलेन्स नियमित मर्मत सम्भार नहुँदा थन्किएका हुन् ।