काठमाडौं, साउन १२ :

अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गत नेपालमा सञ्चालित कार्यक्रमलाई निरन्तरता दिइएको अर्थ मन्त्रालयले औपचारिक रूपमा स्पष्ट पारेको छ। मन्त्रालयले सोमबार सार्वजनिक सूचना जारी गर्दै कार्यक्रम अब नियमित रूपमा अघि बढ्ने जानकारी दिएको हो।

अर्थ मन्त्रालयको अनुसार, एमसीसीको २०८१ फागुन २२ गतेको पत्रमा आधारित रहेर अमेरिकाको राष्ट्रपतिको २०२५ जुलाई २० को कार्यकारी आदेशबाट सुरु भएको पुनरावलोकन प्रक्रिया २४ जुलाई २०२५ मा समाप्त भएको र नेपाल कम्प्याक्टलाई निरन्तरता दिन सिफारिस भएको जानकारी प्राप्त भएको उल्लेख छ।

यसअघि अमेरिकाको वैदेशिक सहायता समीक्षाले एमसीसी सम्झौताको कार्यान्वयनलाई निरन्तरता दिन सिफारिस गरेको थियो। नेपालस्थित अमेरिकी राजदूतावासले समेत गतसाता मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल (एमसीए नेपाल) लाई निर्बाध रूपमा सञ्चालन गर्न अनुमति दिने निर्णयको जानकारी दिएको थियो।

एमसीए नेपालका अध्यक्ष एवं अर्थ सचिव घनश्याम उपाध्यायले पनि अमेरिकी दूतावासबाट औपचारिक पत्रमार्फत निर्णयको जानकारी प्राप्त भएको पुष्टि गरेका छन्।

५० करोड अमेरिकी डलर बराबरको अनुदान र नेपाल सरकारको थप १९.७ करोड डलर योगदानसहितको यो परियोजनाले विद्युत् प्रसारण पूर्वाधार निर्माण र सडक सञ्जालको सुधार गरी समृद्धि र क्षेत्रीय ऊर्जा प्रबर्द्धनमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।