
सिरहाको लहान १० स्थित ग्रामीण चोकबाट उत्तरतर्फ खुट्टी नदीसम्म सहरी क्षेत्रमा फैलिएको खुट्टी सिँचाइ नहरको अवस्था अत्यन्तै दयनीय बनेको छ । प्रदेश सरकारको आठ करोड ७२ लाख लगानीमा २०७८ सालमा निर्माण भएको नहर अहिले अलपत्र अवस्थामा पुगेको छ ।
सिँचाइका लागि निर्माण गरिएको नहर अहिले ठाउँठाउँमा जमेको फोहोर, झारपात र ढल मिसिएको पानीले दुर्गन्ध फैलाउने अवस्थामा पुगेको छ । स्थानीय बासिन्दा तथा खुट्टी नहर सिँचाइ संघर्ष समितिले पटकपटक आवाज उठाउँदा पनि सम्बन्धित निकायले बेवास्ता गर्दै आएको जनाइएको छ ।
संघर्ष समितिका संयोजक धर्मराज चौधरी, सदस्य हेमन्त यादव, अजय चौधरीलगायतले मधेस प्रदेश सरकारका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीसमक्ष सोमबार गुनासो पोख्दै नगर मर्मत गर्न आग्रह गरेका छन् ।
उनीहरूले नहर सञ्चालनका लागि छुट्याइएको १५ लाख अपार्याप्त रहेको जनाउँदै पुनः ध्यानाकर्षण गराएका छन् ।
मन्त्री लेखीले किसानहरूको समस्या सम्बन्धित मन्त्रालय र विभाग बढी जिम्मेवार रहेको औंल्याउँदै आफूबाट आवश्यक पहल गर्ने प्रतिबद्धता जनाए ।