सुर्खेत, साउन १३ :

भेरी नदीमा पानीको सतह बढेको जनाउँदै जिल्ला प्रशासन कार्यालय जाजरकोटले सतर्क रहन आग्रह गरेको छ । भेरी नगरपालिका १, रिम्ना जाजरकोटमा रहेको भेरी रिम्ना जल मापन केन्द्रमा पानीको बहाव बढेको सूचना आएको प्राप्त भएपछि प्रशासनले तटीय क्षेत्रमा सतर्क रहन भनेको हो ।

‘जलसतह बढ्दो क्रममा भई खतरा तह आसपास रहेकाले नदी तटीय क्षेत्रमा रहनेहरूले सतर्कता अपनाइराखौं,’ जाजरकोटका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मङ्ग्रातीले भने, ‘नदीको किनारमा रहेका बस्तीका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ । प्रहरीलाई पनि यसबारे खबर गरिएको छ ।’

डोल्पाका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले पनि पानीको सतह केही बढेकाले सतर्क रहन आग्रह गरेको जनाए ।