काठमाडौं, साउन १३ :

अझै पनि टुजीमा रमाउने नेपालीहरुको संख्यामा कमी आउन नसकेको सरकारी तथ्यांकले नै देखाएको छ ।नेपाल दूरसञ्चार प्राधिकरणले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार ३२ लाख भन्दा बढि नेपाली टुजीका प्रयोगकर्ता रहेका छन् । प्राधिकरणले उपलब्ध गराएको तथ्यांकमा थ्री जी भन्दा टुजी चलाउनेहरु करिब तेब्बर रहेको देखिएको छ । गत जेठसम्म टुजीका प्रयोगककर्ता ३२ लाख १ हजार रहँदा थ्रीजीका प्रयोगकर्ता भने जम्मा ८ लाख ६९ हजार रहेका छन् । यसले अझै पनि धेरै नेपालीहरु पुरानो प्रविधि टुजीमै रमाइरहेको सरकारी तथ्यांकले प्रष्ट पारेको छ ।

गत जेठसम्मको तथ्यहेर्ने हो भने फोरजी २ करोड ५४ लाख नेपालीले अहिले फोरजी प्रविधिमा आधारित मोबाइलमा इन्टरनेट चलाउछन । कुल जनसंख्याको तुलनामा करिब ८८ प्रतिशत जनताले फोरजी चलाउने गरेको प्राधिकरणको तथ्यांकले देखाएको छ ।

विश्व सीक्स जीमा गइसक्दा नेपाल भने अझै फाइभ-जीमा जान सकेको छैन् । नेपाल टेलिकमले फाइभजीको परिक्षण गरेपनि लगानी र बजारको कारण देखाउँदै अझै शुरुवात गरेको छैन ।

फ्री वाइफाईमाथि कडाइको संकेत

मोबाइल सेवा प्रदायकहरुको आम्दानीमा दिनप्रतिदिन भारी गिरावट आएपछि सरकारले फ्री वाइफाई कडाइ गर्ने संकेत देखाएको छ । हाल इन्टरनेट सेवा प्रदायक वर्ड लिंकले देशभर २५ हजार भन्दा धेरै ठाउँमा फ्री वाइफाई हटस्पट छाडेका बेला त्यस्तो वाइफाइका कारण नेपाल टेलिकम, एनसेलको डेटा खपतमा असर परेको सेवाप्रदायकहरुबाट गुनासो आएपछि प्राधिकरणले जथाभावी वाइफाई हटस्पट सञ्चालन गर्ने इन्टरनेट सेवा प्रदायकहरूमाथि कारबाही गर्ने चेतावनी दिएको छ ।

हटस्पट सञ्चालनसम्बन्धी विनियमावली, २०७५ का प्रावधानविपरीत केही सेवा प्रदायकहरूले वाइफाई हटस्पट सञ्चालन गरेको भन्दै प्राधिकरणले कारबाही गर्ने चेतावनी नै दिएको छ ।

प्राधिकरणले आइतबार जारी गरेको सूचनाअनुसार आधारभुत दूरसञ्चार सेवा, मोबाइल टेलिफोन सेवा र आधारभुत टेलिफोन सेवाको अनुमति पाएका सेवा प्रदायकहरूले मात्रै वाई-फाईको माध्यमबाट सिमलेस कनेक्टिभिटी-रोमिङ-मोबिलिटी प्रदान गर्न सक्नेछन् । तर, यीबाहेक अन्य लाइसेन्स प्राप्त सेवा प्रदायकहरूले हटस्पट सञ्चालनसम्बन्धी विनियमावली, २०७५ ले तोकेका सर्तअनुसार मात्रै वाईफाई हटस्पट सेवा सञ्चालन गर्न प्राधिकरणले सचेत गराएको छ ।

प्राधिकरणबाट आधारभुत दूरसञ्चार सेवाको अनुमति नेपाल टेलिकमले मात्रै पाएको छ । मोबाइल टेलिफोन सेवाको लाइसेन्स एनसेल र टेलिकमले पाएका छन् । विनियमावलीको विनियम २ (ङ) र २ (च) मा परिभाषित निश्चित क्षेत्र वा परिधिभित्र वाईफाई हटस्पट सञ्चालन गर्न सक्ने व्यवस्था गरिएको छ । यस्तै, विनियम ५ (१) अनुसार एक पटकको लगइनबाट निश्चित समयावधि वा मात्राका लागि वाईफाई हटस्पट सेवा प्रयोग गर्नसक्ने व्यवस्था छ । तर इन्टरनेट सेवा प्रदायकहरूले यी प्रावधान उल्लघंन गरेको प्राधिकरणको निष्कर्ष छ ।

साथै प्राधिकरणले वाई-फाई हटस्पट सेवा सञ्चालन गर्दा रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समितिले तोकिदिएको दूरसञ्चार सेवाको रेडियो फ्रिक्वेन्सी (बाँडफाँट तथा मूल्यसम्बन्धी) नीति, २०८० को दफा ७.४, अनुसूची ४ बमोजिम पावर लिमिट, ब्याकहल-ब्याकबोन रेस्ट्रिक्सनलगायत सर्तहरू अनिवार्य पालना गर्न सेवा प्रदायकहरूलाई निर्देशन दिएको छ । सर्तहरू पालना गरेर प्राधिकरणबाट टाइम-एप्रुभल भएका रेडियो उपकरणहरू मात्र प्रयोग गर्न समेत भनिएको छ ।