
अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति राजकिशोर यादवले नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन् ।
सिंहदरबारमा मंगलबार बसेको समितिको बैठकमा उनले विधेयकलाई उच्च प्राथमिकताका साथ समितिमा छलफल गरिरहेको पनि जनाए । हवाई सेवा प्राधिकरण र नागरिक उड्डयन प्राधिकरण विधेयक एक-अर्कासँग सम्बन्धित रहेकाले उच्च प्राथमिकताका साथ छिटो समितिबाट टुंगो लगाउन जरुरी रहेको उनले बताए ।
‘यो विधेयक सरकारको उच्च प्राथमिकतामा रहेको छ । यही गतिका साथ पास गर्नेगरी तयारी गर्नुपर्यो भन्ने कुरा आएपछि हामीले यसलाई निरन्तर उच्च प्राथमिकताका साथ राखेका छौं,’ उनले भने ।
दुईवटै विधेयक एक-अर्काका परिपूरक भएको पनि उनले उल्लेख गरे । विधेयकलाई छिटो र प्रभावकारी रुपमा अघि बढाउन समिति क्रियाशील रहेको सभापति यादवको भनाइ छ । ‘हवाई सेवा प्राधिकरण, नागरिक उड्डयन प्राधिकरण विधेयक यो एक-अर्कासँग सम्बन्धित छ,’ उनले भने, ‘दुईवटै विधेयक एक-अर्काका परिपूरक हुन् । संरचनाबाहेक अरु उस्तै-उस्तै छ । यसलाई कसरी छिटो र प्रभावकारी बनाउने भन्ने विषय हो । छिटोका नाममा दुर्घटना नहोस् ।’
समितिमा आज (मंगलबार) नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि संशोधनकर्ता सदस्यहरुसँग छलफल भएको हो ।