नुवाकोट, साउन १४ :
भोटेकोशीमा आज बिहान ३ बजेदेखि भीषण बाढी आएको छ ।
बाढीका कारण त्रिशूलीको जलसतह ह्वात्तै बढेको बताईएको छ । रसुवा र नुवाकोटका स्थानीय प्रशासनले सतर्क रहन तटीय क्षेत्रका सर्वसाधारणलाई अनुरोध गरेको छ ।
बाढीले जिल्लाको पैरेबेँसी,वेत्रावती,त्रिशूली,देवीघाट लगायत स्थानमा कटान गरेको नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद हुमागाईले जानकारी दिएका छन् ।
बाढी बस्तीतर्फ पनि पस्ने सक्ने भएकोले सुरक्षित रहन प्रशासनले आग्रह गरेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका जवानले माइकिङ गरेर नदी आसपासमा भएका घर परिवारका सदस्यलाई सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन् ।
बाढीले नुवाकोटको किस्पाङ गाउँपालिका–५ स्थित त्रिशूली–काठमाडौँ प्रसारण लाइनको स्टेशनमा क्षति भएको छ ।