काठमाडौं, साउन १४ :

सत्ता साझेदार नेकपा एमालेको असहमतिका कारण बागमती प्रदेश सरकारमा प्रस्तावित तीन मन्त्रीको शपथ रोकिएको छ। मुख्यमन्त्री बहादुरसिंह लामाले गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरुङलाई मन्त्री नियुक्त गर्ने तयारी गरेका थिए । तर एमालेको दबाबका कारण बुधबार बिहान उनीहरूको शपथ रोकिएको हो।

मुख्यमन्त्री लामाले आफूलाई समर्थन गर्ने कांग्रेसका सांसदहरूलाई मन्त्रिपरिषदमा समावेश गर्न खोजेका थिए। तर नेकपा एमालेले दलको नेताको विवाद समाधान नभएसम्म मन्त्री विस्तारमा सहमति नजनाउने अडान लिएको स्रोतले जनाएको छ।

यसबीच, बागमती कांग्रेस संसदीय दलको नेताका लागि बहादुरसिंह लामा र इन्द्र बानियाँबीच प्रतिस्पर्धा हुँदैछ। मंगलबार दलको नेताबाट लामाविरुद्ध परेको अविश्वास प्रस्ताव २२ मतले पारित भएपछि पुनः नेतृत्व चयनको प्रक्रिया अघि बढाइएको हो।

निर्धारित समयभित्र बानियाँ र लामाले उम्मेदवारी दर्ता गराएका थिए भने नाम फिर्ता नलिएपछि उनीहरूबीच बुधबार मतदान हुँदैछ।

झण्डै तीन वर्षअघि पनि लामा र बानियाँबीच प्रतिस्पर्धा भएको थियो । जहाँ बानियाँ पराजित भएका थिए। यसपटक भने बानियाँले लामाविरुद्ध अविश्वास प्रस्ताव पारित गराएर आफूलाई मुख्यमन्त्री बनाउने रणनीति अघि सारेका छन्।