नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पूर्वराष्ट्रपतिहरू राजनीतिमा नफर्केको राम्रो हुने धारणा व्यक्त गरेका छन्।
विराटनगर विमानस्थलमा बुधबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै कोइरालाले संविधानले पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई राजनीतिमा फर्कन रोक नलगाए पनि व्यक्तिगत रूपमा उनीहरू राजनीतिबाट टाढै बस्न उचित हुने बताएका हुन्।
कोइरालाले भने, ‘राजनीति गर्ने व्यक्तिमा नैतिकता हुनु जरुरी हुन्छ, अन्यथा राजनीति धराप पर्छ।’
त्यसै क्रममा उनले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहालसँग भएको भेटलाई सामान्य छलफलको रुपमा चित्रित गर्दै विभिन्न दलका नेताहरूसँग भेटघाट हुनु राजनीतिक संस्कारमा सामान्य कुरा भएको बताए।
डा. कोइरालाले वर्तमान गठबन्धन सरकारले २०८४ सालसम्म निरन्तरता पाउने विश्वास व्यक्त गरे। उनले गठबन्धन सरकार निर्माणका क्रममा गरिएको सात बुँदे सहमति कार्यान्वयनको खाँचो औंल्याउँदै, भ्रष्टाचार नियन्त्रण र सुशासन जनताले अनुभूत गर्नेगरी सरकार अघि बढ्नुपर्नेमा जोड दिए।
एक प्रश्नको जवाफमा उनले नेपाली कांग्रेसको संसदीय दलको नेता हाललाई नबदलिने स्पष्ट पार्दै पार्टीको महाधिवेशन तोकिएअनुसार २०८२ सालमै हुने दाबी गरे।