
बैतडीकी अनमी जानकी पुजारालाई स्वास्थ्य मन्त्री प्रदीप पौडेलले टेलिफोन गरेर प्रशंसा गरेका छन्। मन्त्री पौडेलले नवजात शिशुलाई निरन्तर ६ घण्टा कृत्रिम श्वास दिँदै ज्यान जोगाएको उल्लेख गर्दै जानकीको कार्यलाई ‘भगवान्सरह’को भूमिका भनेका छन्।
कृत्रिम श्वासमार्फत ज्यान जोगाएको घटना सार्वजनिक भएपछि मन्त्री पौडेलले जानकीलाई बुधबार बेलुकी फोन गरेका हुन्। फोनमा मन्त्रीले स्वास्थ्य प्रणालीका अभावबीच गरेको योगदानप्रति धन्यवाद दिँदै भने, ‘देशलाई तपाईंहरूजस्तै स्वास्थ्यकर्मीहरूको खाँचो छ।’
जानकी पुजारी बैतडीको सिगास गाउँपालिका–४ स्थित कान्धार आधारभूत स्वास्थ्य सेवा केन्द्रमा कार्यरत स्वास्थ्यकर्मी हुन्। गत बिहीबार राति साढे ९ बजे २० वर्षीया लक्ष्मी धामीले शिशु जन्माएकी थिइन्। तर नवजात शिशुमा कुनै प्रतिक्रिया देखिएन। श्वासप्रश्वास सुस्त थियो।
स्रोतसाधनको अभाव, कच्ची सडक तथा हेलिकप्टर सेवा उपलब्ध नहुँदा जानकीले अन्ततः आफैँले शिशुलाई कृत्रिम श्वास दिन थालिन्। झन्डै ६ घण्टापछि शिशु रोएर सामान्य क्रियाकलाप गर्न थालेको उनले बताइन्।
‘२० मिनेटपछि छाती फुल्न थाल्यो, साढे ३ बजे रोयो,’ उनले भनिन्, ‘निकै जोखिम थियो तर सफल भइयो।’ उक्त योगदानको चर्चा सामाजिक सञ्जालदेखि समुदायमा व्यापक भएको छ। शिशु र आमा दुवै अहिले स्वास्थ्य अवस्थामा सामान्य छन्।