जनकपुरधाम, साउन १५ :

जनकपुरधाममा १५ वर्षीया किशोरीको हत्याको घटनामा भने उनको आमा प्रमुख कारण देखिएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

जनकपुरधाममा १५ वर्षीया किशोरीको हत्या आरोपमा धनुषा प्रहरीले एक जनालाई सार्वजनिक गरेको छ ।  १५ वर्षीया अञ्जली कुमारी यादवको हत्या आरोपमा उनकै आमाको प्रेमी पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषामा बिहीबार आयोजित पत्रकार सम्मेलनमा हत्या आरोपमा पक्राउ परेका  ३५ वर्षीय रामबाबु साहलाई सार्वजनिक गरिएको हो । उनी यसअघि आफ्नो श्रीमतीको हत्या गरेको घटनामा पाँच वर्ष सजाय काटेर रिहा भएका थिए ।

साहलाई बुधबार राति करिब साढे १० बजेको समयमा क्षीरेश्वरनाथ- ९ बाट पक्राउ गरिएको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक बरुणबहादुर सिंहले जानकारी दिए ।

साहले सोमबार राति खुकुरी प्रहार गर्दा अञ्जलीको मृत्यु भएको थियो भने उनकी आमा ३५ वर्षीया आशा यादव घाइते भएकी छिन् । आशाको धरान स्थित वि.पि. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको तथा उनको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएका छन् ।