
सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताबीच बालुवाटारमा बसेको छलफल सकिएको छ ।
बैठकमा संसद्मा विचाराधीन विधेयक, कानुन संशोधनका विषयबारे महान्यायाधिवक्ता रमेश बडालसँग छलफल भएको जनाइएको छ । बैठक कानुन संशोधनकै विषयमा केन्द्रित रहेको बुझिएको छ। तर मन्त्रिपरिषद् हेरफेरबारे छलफल नभएको जनाइएको छ ।
आजको बैठकमा मन्त्री हेरफेर बारे छलफल हुने भनेर चर्चा गरिएको थियो । यद्यपि एमालेले बागमती प्रदेशमा देखिएको पछिल्लो सत्ता समीकरणको विवादबारे भने चासो देखाएको थयो ।
कांग्रेसले त्यो आफूहरूको आन्तरिक विषय भएको जनाउँदै आफैं मिलाउने जवाफ दियो । बागमती प्रदेशमा कांग्रेसभित्र देखिएको विवादलाई केही दिनभित्र निकास दिने नेताहरुले आश्वासन दिए । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामालाई संसदीय दलको नेताबाट हटाएर इन्द्रबहादुर बानियाँ चयन भइसक्दा पनि लामाले पदबाट राजीनामा दिएका छैनन् । तर, एमालेले कांग्रेसको संस्थापन पक्षलाई समर्थन गर्ने निर्णय गरिसकेको छ ।
बैठकमा प्रधानमन्त्री केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, गृहमन्त्री रमेश लेखक, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र महान्यायाधिवक्ता बडाल सहभागी थिए ।