
नागरिक उन्मुक्ति पार्टी (नाउपा) को संस्थापकहरूको भेलाले नयाँ अध्यक्ष चयन गरेको छ । काठमाडौँको बानेश्वरमा बिहीबार बसेको भेलाले लालवीर चौधरीलाई पार्टी अध्यक्ष चयन गरेको हो ।
अध्यक्ष चयन भएका लालवीर पार्टी संरक्षक रेशम चौधरीका बुबा हुन् । उनी प्रतिनिधिसभा सदस्यसमेत हुन् । संस्थापक चौधरीले घुस काण्डमा मुछिएकी आफ्नै श्रीमतीसमेत रहेकी अध्यक्ष रञ्जिता श्रेष्ठलाई कारबाही गरेर बर्खास्त गरेका छन् ।
यसैबीच नाउपाकी निलम्बित अध्यक्ष रञ्जिता श्रेष्ठले संसदीय दलका नेता गंगाराम चौधरीले विधानविपरीत काम गरेको आरोप लगाउँदै चौबीस घण्टाभित्र लिखित स्पष्टीकरण सोधेकी छिन् ।
तीन पृष्ठको पत्रमार्फत श्रेष्ठले आफू अस्वस्थ्य भएका कारण पार्टी गतिविधिमा सक्रिय हुन नपाएका बेला संसदीय दलका नेता चौधरीले विधानविपरीत गतिविधि गरेको आरोप लगाएकी छन् ।
आफूलाई जानकारी नगराई विधानविपरीत केन्द्रीय समिति बैठक आह्वान गरिएको, पार्टी महासचिवका रूपमा हस्ताक्षर गरी निर्वाचन आयोगमा पत्र पठाएको तथा पार्टी एकता र अनुशासनविपरीत व्यक्तिगत निर्णयहरू गरेको श्रेष्ठको आरोप छ ।
पार्टीको आन्तरिक विधान, राजनीतिक दलसम्बन्धी ऐन, २०७३ र निर्वाचन आयोगसमक्ष पेस गरिएका दस्ताबेजअनुसार चौधरीले एकल निर्णयबाट गर्न नपाउने भन्दै श्रेष्ठले लिखित जवाफ माग गरेकी छन् ।
चौबीस घण्टाभित्र लिखित स्पष्टीकरण नआए पार्टी विधानबमोजिम कारबाही प्रक्रिया अघि बढाइने श्रेष्ठले चेतावनीसमेत दिएकी छन् ।