काठमाडौं, साउन १५ :

नेपाल क्रिकेट संघ क्यानले नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करणको आय–व्यय विवरण सार्वजनिक गरेको छ।

काठमाण्डौं मूलपानीमा आज बसेको क्यानको केन्द्रीय कार्यसमिति बैठकले पहिलो संस्करणमा कुल आम्दानी २७ करोड ६९ लाख ६४ हजार ८१८ रुपैयाँ रहेको सार्वजनिक गरेको हो । आजको  बैठकमा एनपिएलको आय-व्यय विवरण प्रस्तुत गरिएको थियो ।

प्रतियोगितामा कुल खर्च २० करोड १५ लाख ७३ हजार ५५९ रुपैयाँ रहेको छ। आय–व्ययपछि कुल ७ करोड ५३ लाख ९१ हजार २५९ रुपैयाँ नाफा देखिएको छ। त्यसमा ८ फ्रेञ्चाइज टोलीहरूलाई ५० प्रतिशत राजस्व बाँडफाँड गरिएको छ जसको रकम ४ करोड ३७ लाख ४० हजार ४७० रुपैयाँ रहेको छ।

२ करोड ४६ लाख  रुपैयाँ बचत गरेको क्यानले जारी विज्ञप्तिमा उल्लेख छ।          

बाँडफाँडपछि एनपिएलबाट क्यानको नाफा २ करोड ४६ लाख ५० हजार ७८९ रुपैयाँ रहेको  क्यानले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।


पछिल्लो समय एनपिएलको खर्च आम्दानीको विषय चर्चामा थियो। क्यान भित्र पनि आयव्ययको बारेमा प्रश्न उठेको थियो। जसको छानबिन युवा तथा खेलकुद मन्त्रालयले पनि गरिरहेको छ।  यसैबीच क्यानले आज आयव्यय  सार्वजनिक गरेको हो।

अहिले क्यान दोस्रो एनपिएलको तयारीमा जुटिसकेको छ।