काठमाडौं, साउन १६ :

नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक एक वर्षपछि आजदेखि सुरु हुँदैछ ।

बैठक आज केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे  बस्दैछ । बैठकका लागि बुधबार बसेको पदाधिकारी बैठकले  एजेन्डा तय गरिसकेको छ।

पछिल्लो समय माओवादी पार्टीभित्र अन्तरविरोध बढ्दै गएको छ ।

गत वर्ष साउन २६ गते स्थायी समिति बैठकमा उपमहासचिव शर्माले पार्टी निर्माण र नेतृत्व हस्तान्तरणसम्बन्धी १४ बुँदे प्रस्तावलाई पुस २० देखि २३ गतेसम्म बसेको केन्द्रीय समिति बैठकले हल गरी कार्यान्वयनमा लैजाने निर्णय गरेको  तर निर्णय कार्यान्वयन नभएको भन्दै उपमहासचिव शर्माले असन्तुष्टि ब्यक्त गर्दै आएका छन् ।

पदाधिकारी बैठकले अध्यक्ष प्रचण्डले वर्तमान परिस्थितिबारेमा ब्रिफिङ गर्ने, केन्द्रीय समितिको बैठकबारे मिति तय गर्ने, समाजवादी मोर्चालाई थप विस्तार गर्ने, सङ्गठन निर्माण, कार्य विभाजन र आन्तरिक एकतालाई सुदृढीकरण गर्ने, बाढी पहिरो जस्ता प्राकृतिक प्रकोप, संसद्‌मा विचाराधीन विधेयक लगायत एजेन्डा तय गरिसकेको छ ।

आजदेखि बस्ने स्थायी समिति बैठकले केन्द्रीय समितिको बैठकको मिति तय गर्नेछ ।