
सुदूरपश्चिमका मुख्य दुई राजमार्ग पहिरोका कारण अवरुद्ध भएका छन् ।
डडेल्धुरामा भीमदत्त राजमार्ग र केआइसिंह राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
लगातारको वर्षाका कारण भीमदत्त राजमार्गको साहुखर्क र केआइसिंह राजमार्गको रडुवामा पहिरो गएको छ । पहाडी जिल्लाहरूमा वर्षाका कारण टेलिफोन र विद्युत् सेवासमेत अवरुद्ध हुँदै आएको छ ।
फल्टुडे, खानीडाँडा, भासुभिर, बुडर, रडुवा, मेलखर्क, आलिताल लगायत क्षेत्रको सडक खण्ड पनि अबरुद्ध हुन पुगेको छ ।

गन्यापधुरा गाउँपालिका–१ को साहुखर्कमा भीमदत्त राजमार्ग बिहीवार राति खसेको पहिरोले अवरुद्ध भएको प्रहरीले जनाएको छ । साहुखर्कमा हिजो साँझदेखि नै पहिरो खसिरहेको थियो।
राजमार्ग अवरुद्ध हुँदा सवारीसाधन साहुखर्क मै रोकिएका छन्।
यस्तै डडेल्धुराकै गन्यापधुरा गाउँपालिका–२ को रडुवामा समेत पहिरो खस्दा केआईसिंह राजमार्ग अवरुद्ध भएको छ भने आलितालमा खसेको पहिरोले जोगबुढाबुडर सडक पनि बन्द भएको छ ।