काठमाडौं, साउन १६ :

प्रधानमन्त्री केपी ओलीले कोदो हाम्रो परम्परागत खाद्यान्न बाली मात्र नभई यसको पोषणीय महत्त्व रहेको बताएका छन् ।

प्रधानमन्त्री ओलीले कोदो दिवसका अवसरमा सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै कोदोको उत्पादन बढाउन र परिकारहरु उपभोग गर्न सबैसँग आग्रह गरे ।

‘कोदो हाम्रो परम्परागत खाद्यान्न बाली मात्र होइन, यसको पोषणीय महत्त्व छ । ग्लाइसेमिक इन्डेक्स कम हुने भएकाले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न, यसमा हुने फाइबरले हृदय स्वास्थ्य मजबुत बनाउन मद्दत गर्छ,’ सामाजिक सञ्जालमा प्रधानमन्त्री ओलीले शुक्रबार लेखेका छन्, ‘सिँचाइबिना नै उत्पादन हुन सक्ने यस्तो गुणकारी खाद्यान्नलाई प्रवर्द्धन गर्न सरकारले यस वर्षदेखि साउन १६ गतेलाई राष्ट्रिय कोदो दिवसका रूपमा मनाउने निर्णय गरेको छ।

उनले कोदोको उत्पादन बढाउन र परिकारहरु उपभोग गर्नलाई आह्वान पनि गरेका छन्  । सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘कोदो उत्पादन बढाऔं, कोदोका परिकारहरु उपभोग गरौं ! कोदो दिवसको शुभकामना !’