काठमाडौं, साउन १७ :

देशभर अहिले मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको थोरै उत्तरतर्फ अवस्थित छ ।

देशभर शनिबार दिउँसो साधारणत: बदली रहनेछ । गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू-भागका धेरै स्थानमा तथा तराई भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।

कोसी, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशभर शनिबार राति साधारणत: बदली रहनेछ । कोसी, मधेस, बागमती, गण्डकी प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । कोसी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाको नियमित बुलेटिनमा उल्लेख छ ।