कञ्चनपुर, भदौ २९ :

लगातारको अबिरल बर्षासँगै महाकालीमा नदीमा आएको बाढीले भुजेला खोला थुनिँदा कञ्चनपुरका बस्तीहरु डुबानमा परेका छन ।

भीमदत्त नगरपालिका वडा नं. १२ भुजेला क्षेत्र र ऐरीघाटका ७० परिवार भन्दा बढी बाढीले बिस्थापित भएका छन ।

बिस्थापितहरु बन्दोबस्तीका सामान र गाइबस्तुसहित १२ नम्बर वडा कार्यालय र महाकाली किनाराको सडक छेउमा बस्न बाध्य छन ।

उता जोगुढा नदीले डुवान गर्दा दोधारा चाँदनी नगरपालिका वडा नं. ३, पटर खल्ला वडा नं.१० कुतियाकवर लगायतका क्षेत्रहरुमा १३० भन्दा बढी  घर परिवार बिस्थापित भएका छन ।

पुनर्वास नगरपालिकाको रातो ताल, दशरथ बस्ती लगायतका क्षेत्रहरुमा डुवान हुँदा ५५ परिवार विस्थापित भएका छन ।

बाढीले लत्ताकपडा , खाद्यान्न ,बन्दोबस्तीका सामान र घरमा राखिएका आवश्यक अन्य सरसमान समेत भिजेर नष्ट भएका छन ।

उद्धारको काम जारी रहेको र बाढी प्रभावितहरुलाइ सुरक्षित स्थानमा सार्ने काम भैरहेको प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटाले जानकारी दिनुभएको छ ।