काठमाडाैं, साउन १७ :

एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टी अध्यक्ष माधवकुमार नेपालप्रति गहिरो असन्तोष व्यक्त गरेका छन्। शनिबार पत्रकार सम्मेलनमार्फत उनले पार्टी छाडेर जानुहोस् भन्ने माधव नेपालको अभिव्यक्तिलाई तानाशाही सोच र तल्लो स्तरको चिन्तनको संज्ञा दिएका हुन्।

‘मैले त उहाँलाई भव्य नेताको रूपमा हेरेको थिएँ, तर यस्तो अभिव्यक्ति आएपछि त उहाँसँग तल्लो स्तरको चिन्तन रहेछ भन्ने लाग्यो’, खनालले गहिरो पीडा पोख्दै भने।

उनले ३२ वर्षदेखिसंगै पार्टीमा रहेका नेताबाट यस्तो आदेश आउने कल्पनासमेत नगरेको बताए। ‘कम्युनिस्ट पार्टीको नियम, पद्धति बुझ्ने मान्छेबाट यस्तो व्यवहारको अपेक्षा थिएन’, उनले भने।

शुक्रबार विराटनगरमा सञ्चारकर्मीहरूसँग अध्यक्ष नेपालले खनालप्रति दिएको अभिव्यक्तिमा, ‘पार्टीको निर्णय नमान्ने हो भने पार्टी छाडेर जानुहोस्’ भन्ने भनाइ आएको थियो। खनालले सार्वजनिक प्रतिक्रिया दिँदै नेपालको व्यवहारलाई अशोभनीय, गैर-जिम्मेवार र तानाशाही प्रवृत्ति भएको बताए।

उनले माधव नेपालप्रति प्रश्न गर्दै भने, ‘मैले पार्टी विद्रोहको औचित्य छैन भनेको भरमा पार्टी छाड भनेर आदेश दिने? कस्तो तानाशाह बन्न खोजिएको हो?’

केही दिनअघि झलनाथ खनालले एक अन्तर्वार्तामा एमाले छाडेर नयाँ पार्टी गठन गर्नुको औचित्य पुष्टि हुन नसकेको टिप्पणी गरेका थिए। त्यसपछि अध्यक्ष नेपाल आक्रोशित भएका थिए।दुई शीर्ष नेताबीचको आरोप प्रत्यारोपले एकीकृत समाजवादी पार्टीभित्र आन्तरिक मतभेद चुलिँदै गएको संकेतको रूपमा हेरिएको छ।