
रुपन्देही, साउन १८ :
रुपन्देहीमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । सियारी गाउँपालिका–७ भर्थापुरमा आइतबार बिहान मोटरसाइकल दुर्घटनामा बाबुको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् ।
मायादेवी गाउँपालिका ७ का ६० वर्षीय राममिलन धवलको उपचारका क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालक तथा उनका छोरा ३० वर्षीय विनोद धवल सख्त घाइते भएका छन् । टाउको, हात र खुट्टामा चोट लागेका उनको भैरहवास्थित सिटी अस्पतालमा उपचार भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी गणेश सापकोटाले मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको हुन सक्ने अनुमान गरेका छन् ।यद्यपि प्रहरी दुर्घटनाबारे अनुसन्धान सुरु गरेको छ ।