
सभामुख देवराज घिमिरेले जलवायु परिवर्तनले पारिरहेको असर सम्बन्धमा नेपालको संसदको तर्फबाट आगामी भदौ २ र ३ गते अन्तर्राष्ट्रिय सम्मेलन गर्ने बताएका छन् ।
संसदमा सभामुखहरुको छैटौं विश्व सम्मेलनमा सहभागी भइ आइतबार स्वदेश फर्किएका सभामुख घिमिरेले यसबारे जानकारी गराएका हुन् । उनले लवायु परिवर्तनले पारिरहेको असरलाई लिएर नेपालको संसदको तर्फबाट भदौको २ र ३ गते अन्तर्राष्ट्रिय सम्मेलन गर्न लागेको बताए । त्यसबारे पनि सम्मेलनमा छलफल भएको जानकारी दिए । अन्तर व्यवस्थापिक संघ (आइपियु) का अध्यक्षसँग पनि आउँदो जनवरी ३० र ३१ मा एशिया प्यासिफक रिजनको जलवायुका असरहरुसँग सम्बन्धित एउटा कार्यक्रम गर्नेबारे छलफल गरेको बताए ।
सभामुख घिमिरेले भने, ‘हामीले जलवायु परिवर्तनले पारिरहेको असरलाई लिएर नेपालको संसदको तर्फबाट भदौको २ र ३ गते अन्तर्राष्ट्रिय सम्मेलन गर्नेछौं । त्यसको बारेमा पनि कुराकानी भयो । आइपियुका अध्यक्षसँग पनि आउँदो जनवरी, ३० र ३१ मा एउटा एशिया प्यासिफक रिजनको जलवायुका असरहरुसँग सम्बन्धित एउटा कार्यक्रम आइपियुकै अयोजनामा काठमाडौंमा सञ्चालन गर्न गइरहेका छौँ । त्यसको तयारीको सन्दर्भमा पनि सल्लाह भयो । छलफल भयो । यसपालिको बैठक विश्वभरका संसदका प्रमुखहरुसँगको छलफल भेटघाट, दुई पक्षीय भेटघाटका बारेमा पनि छलफल भयो । ’
सभामुख घिमिरेले अन्तर व्यवस्थापिका संघ (आइपियु) र संयुक्त राष्ट्रसंघ (युएन)द्वारा संयुक्त रूपमा आयोजित सम्मेलनमा सहभागी हुन तीन सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सभामुख घिमिरे ११ साउनमा जेनेभा प्रस्थान गर्नुभएको थियो । सम्मेलनको दौरान सभामुख घिमिरेले संयुक्त अधिराज्य बेलायत, स्विट्जरल्याण्ड, माल्टा, इजरायल, भुटानलगायतका मुलुकका संसद्का सभामुखहरूसँग द्विपक्षीय भेटघाट गरे ।