काठमाडौं, साउन १८ :

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाली नागरिकको स्वास्थ्य सेवा प्रवाहमा नर्सहरूको भूमिका अत्यन्त महत्त्वपूर्ण रहेको बताएकी छन् ।

महाराजगन्ज नर्सिङ क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनद्वारा आइतबार आयोजित कार्यक्रममा उनले चिकित्सकहरु सहजै उपलब्ध हुन नसकिरहेको नेपालजस्तो देशमा नागरिक स्वास्थ्यका प्रमुख आधारस्तम्भ नै नर्सहरु रहेका उल्लेख गरिन् ।

‘ग्रामीण बस्तीदेखि सहरी अस्पतालसम्मै नर्सहरुको सेवा, समर्पण र बिरामीहरुप्रतिको व्यवहार स्वास्थ्य प्रणालीको प्रमुख आधार बनेको छ,’ उनले भनिन्, ‘जनस्वास्थ्यको उपलब्धता र आधारभूत स्वास्थ्य सेवाका लागि नर्सहरूको भूमिका झन् महत्त्वपूर्ण बन्दै गएको छ ।’

बिरामीको उपचार, उनीहरुको मनोबलमा वृद्धि, आपतकालीन अवस्थामा सेवा र बिरामीहरुलाई परामर्शजस्तो नर्सिङ सेवाका कारण अहिले नागरिकमा स्वास्थ्यमा पहुँच, मातृ-शिशु स्वास्थ्यमा सुधार तथा ग्रामीण क्षेत्रसम्मै स्वास्थ्य शिक्षाको सचेतना अभिवृद्धि भएको उनले बताइन् ।

राणाले वर्तमान स्वास्थ्य सेवा प्रणालीमा सुधार ल्याउन यस्तो संवेदनशील सेवामा समर्पित नर्सहरूलाई प्रोत्साहन, सेवाको सुरक्षा, समयानुकूल तालिम र प्राविधिक संसाधन उपलब्ध गराउनुपर्नेमा जोड दिइन् ।

मन्त्री डा राणाले भनिन्, ‘नर्सहरूको भूमिकालाई स्वास्थ्य सेवकका रुपमा मात्र सीमित नराखी एक प्रशिक्षित स्वास्थ्य अभियन्ताका रुपमा विकास गर्नुपर्दछ । नेपालमा समावेशी, पहुँचयोग्य र गुणस्तरीय स्वास्थ्य सेवा प्रणालीका लागि नर्सहरुको यो भूमिका आवश्यक छ ।’

नेपालमा सेफ मदरहुड नेटवर्कमार्फत मातृ तथा शिशु स्वास्थ्यका क्षेत्रमा आफूले विगतदेखि गर्दै आएको अभियानको स्मरण गर्दै उनले अहिले भने नेपालमा मातृ स्वास्थ्यका क्षेत्रमा धेरै सुधार भएको र त्यसमा थप प्रगतिका लागि नर्सिङ पेसालाई समयानुकूल सुविधा-सम्पन्न बनाई विकास गर्दै लैजानुपर्नेमा जोड दिइन् ।

नर्सिङजस्तो महत्त्वपूर्ण र संवेदनशील विषयका स्नातकहरुलाई आफ्नो अध्ययनलाई थप अब्बल र व्यवहारिक बनाउन एवं नरम व्यवहार तथा सेवामार्फत बिरामीहरुको आशा र भरोसाको केन्द्रमा रहेर काम गर्न राणाले सुझाइन् ।

नेपाली नर्सहरु विदेश गइरहेको वर्तमान अवस्थाप्रति उनले भनिन्, ‘यहाँहरुले राम्रो अवसर पाएरै विदेश गइरहनुभएको होला, त्यसमा म केही भन्दिनँ । तर पनि विदेशमा रहँदा त्यहाँको ज्ञान र सीप बटुलेर स्वदेश फर्किनुहोला । यो देशमा यहाँहरुको खाँचो छ ।’