
कांग्रेसभित्रको आन्तरिक द्वन्द्व चुलिएपछि बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले पदबाट राजीनामा दिएका छन्। लामाले आइतबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पत्रकार सम्मेलन गर्दै आफ्नो राजीनामाको घोषणा गरेका हुन्।
उनले आफू इमानदार भएकै कारण यस्तो परिस्थिति आएको बताउँदै राजीनामा दिएको बताएका छन्।अब बागमती प्रदेशमा नयाँ नेतृत्वको सरकार बन्नेछ।
लामाविरुद्ध कांग्रेसकै २१ जना सांसदले हस्ताक्षरसहित अविश्वास प्रस्ताव दर्ता गराएका थिए। साउन १४ गते भएको संसदीय दलको निर्वाचनमा इन्द्रबहादुर बानियाँ २२ मतसहित विजयी हुँदा लामा ८ मतान्तरले पराजित भएका थिए।
संसदीय दलको नेताबाट पदमुक्त भएपछि लामाले नैतिकताको आधारमा मुख्यमन्त्री पदबाट राजीनामा दिनुपर्ने माग बढ्दै गएको थियो। सुरुमा राजीनामा दिन नमानेका लामा अन्ततः पार्टी सभापति शेरबहादुर देउवाको निर्देशनपछि पद त्याग्न राजी भएका हुन्। लामा ८ साउन २०८१ मा बागमतीको मुख्यमन्त्रीमा नियुक्त भएका थिए।