
काठमाडौं, साउन १९ :
गृहमन्त्री रमेश लेखकले मन्त्रिपरिषद्अन्तर्गतको विधयेक समितिको बैठक बोलाएका छन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार बिहान ९ बजे बस्ने बैठकमा अहिले चर्चामा रहेको मुलुकी अपराध (संहिता) ऐन, २०७४ लाई संशोधन गरी केही निश्चित परिस्थितिमा बहुविवाहलाई कानुनी वैधता दिने प्रस्तावित कानुनलगायत विषयमा छलफल हुने बताइएको छ ।
संसदीय मामिला तथा कानुन मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव गरेको सो विधयेक सम्बन्धमा विभिन्नखाले विचार व्यक्त भइरहेका बेला विधयेक समितिका संयोजकसमेत रहेका गृहमन्त्री लेखकले उक्त विषयमा अध्ययन गरिरहनुका साथै विधयेकका विषयमा सरोकारवाला मन्त्री र उच्चस्तरीय सरकारी अधिकारीहरुसित सरसल्लाहसमेत गरिरहेको लेखकको सचिवालयले जनाएको छ ।