काठमाडौं, साउन २० :

हमासले गएको शनिबार इजरायलका एक बन्धकको भिडियो सार्वजनिक गर्यो ।  गाजामा हमासले सार्वजनिक गरेको भिडियोमा उनी एक मानव कंकाल झैं देखिन्छन्। उनलाई यति धेरै भोकाएको देखिन्छ कि जुनसुकै क्षण उनको ज्यान जान सक्छ र उनी निकै पीडामा छन् । उनी बोलेर वा हिँडेर केही गर्न सक्ने अवस्थामा पनि छैनन् । 

बन्धक एव्यातारका दाई इलाय डेविडले भने कि आफ्नो भाईको यो अवस्थालाई क्रुरताको नयाँ स्वरूप भनेका छन्  जसले उनका आमा बाबुलाई छिया छिया पारेको छ।

दाई इलाय डेविडसंग एव्यातार डेविड(वाया) 

गएको शनिबार हमासले २४ वर्षीय एव्यातार डेविडको फुटेज सार्वजनिक गर्‍यो,जसलाई इजरायल र पश्चिमी नेताहरूले कडा रूपमा निन्दा गरेका छन् ।

भिडियोमा बन्धक एव्यातारले भनेका छन् "मैले केही दिनदेखि खाना खाएको छैन... मुश्किलले पिउने पानी भेटेको छु।" उनलाई आफैंको चिहान खन्दै गरेको देखिन्छ।

भिडियोमा एव्यातार डेविड गाजाको सुरुङभित्र कुपोषणको अवस्था र पातलो शरीरसहित कलम लिएर केही लेखिरहेका पनि देखिन्छन्।

बन्धकका परिवारहरूले प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई आफ्नो सैन्य अभियान विस्तारको सट्टा बन्धकको मुक्ति प्राथमिकता दिन आग्रह गरेका छन्।

यस भिडियोको केही दिनअघि प्यालेस्टिनी इस्लामिक जिहाद समूहले अर्का बन्धक रोम ब्रास्लाभ्स्कीको पनि भिडियो सार्वजनिक गरेको थियो जसमा उनी रोइरहेका र कमजोर देखिन्थे।

एव्यातार र रोम दुवैलाई ७ अक्टोबर २०२३ मा हमासद्वारा इजरायलको दक्षिणी भागमा गरिएको आक्रमणको क्रममा नोभा म्युजिक फेस्टिभलबाट अपहरण गरिएको थियो।

रोम ब्रास्लाभ्स्की

हाल गाजामा झण्डै ५० जना इजरायली बन्धक छन् जसमा करिब २० जना अझै जीवित भएको विश्वास गरिन्छ

इलाय डेविडले भने, "हामीले जब आफ्ना भाइको कंकाल जस्तो शरीर देख्यौं, हामीले बुझ्यौं — यो त क्रुरताको एक नयाँ स्तर हो। यो भन्दा तल झर्न सकिन्न।"

उनले विश्व नेताहरूलाई आग्रह गरे कि "एव्यातार र अन्य बन्धकहरूलाई हमासको निर्दयी र विकृत हातबाट बचाउनुहोस्। उहाँ मरिरहनुभएको छ। उनलाई तत्काल औषधि,उचित खाना चाहिन्छ नत्र उनी मर्नेछ।"

हमासको सशस्त्र शाखाले भने बन्धकलाई जानाजान भोकाएको आरोप अस्वीकार गर्दै बन्धकहरूले पनि हमास लडाकु र गाजाका जनताले खाने जस्तै खाना पाउने दाबी गरेको छ।

भिडियो सार्वजनिक भएपछि नेतान्याहुले बन्धकका परिवारहरूसँग कुरा गर्दै भनेका छन् कि बन्धकको उद्धारका लागि प्रयास लगातार र अविच्छिन्न रूपमा जारी रहनेछ।

तर एक इजरायली अधिकारीले भने नेतान्याहु हमासको "सैन्य पराजय मार्फत" बन्धकको रिहाइ गराउन खोजिरहेका छन्।

यसैबीच ६ सय जना निवृत्त इजरायली सुरक्षा अधिकारीहरूले अमेरिकी  राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पत्र लेख्दै गाजाको युद्ध अन्त्य गर्न इजराललाई दबाब दिन आग्रह गरेका छन्।

"यो युद्ध सुरूमा उचित र रक्षात्मक थियो तर जब सबै सैन्य उद्देश्य पूरा भयो युद्ध अब न्यायसंगत रहेन भूतपूर्व शिन बेट प्रमुख अमी आयालोनले भनेका छन् ।

पत्रमा हस्ताक्षर गर्नेहरूमा मोसादका पूर्व प्रमुख तमिर पार्डो, पूर्व प्रधानमन्त्री एहुद बाराक र पूर्व रक्षा मन्त्री मोसे यालोन पनि छन् ।

उनीहरूले लेखेका छन्  "हाम्रो व्यावसायिक मूल्याङ्कन अनुसार अब हमास इजरायलका लागि रणनीतिक खतरा रहन छाडेको छ। तपाईंले लेबनानमा जस्तै गाजामा पनि युद्ध अन्त्य गराउन सक्नुहुन्छ भन्दै भूतपूर्व शीर्ष सुरक्षाधिकारीहरूले ट्रम्पलाई आग्रह गरेका छन् ।

इजरायलले ७ अक्टोबरको हमास आक्रमणपछि गाजामाथि कठोर सैन्य आक्रमण थालेको हो। जसमा झन्डै १ हजार २सय इजरायली मारिएका थिए भने  २ सय ५१ जना बन्धक बनाइएका थिए।

गाजाको हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले भने अनुसार यो आक्रमणपछि ६० हजार भन्दा बढी मानिस मारिएका छन्।

साथै गाजामा इजरायलले लगाएको कडाइका कारण ठूलो मात्रामा अभाव र भोकमरी व्याप्त छ। मन्त्रालयका अनुसार युद्ध सुरु भएयता कुपोषणका कारण १ सय ८० जनाको मृत्यु भइसकेको छ जसमा ९३ जना बालबालिका रहेका छन्।

संयुक्त राष्ट्रसंघ समर्थित एजेन्सीहरूले भनेका छन् कि गाजामा भोकमरीको सबैभन्दा खराब अवस्था अहिले घटिरहेको छ।

अन्तर्राष्ट्रिय पत्रकारहरूलाई इजरायलले गाजामा प्रवेशमा रोक लगाएकोले कतिपय विवरणहरू स्वतन्त्र रूपमा पुष्टि गर्न कठिन भएको अन्तराष्ट्रिय समाचार संस्थाहरुले बताएका छन्  ।