
संघीय निजामती सेवा विधेययकको ‘कुलिङ अफ पिरियड’ मा गडबडी हुनुमा राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवाडा र सचिव सुरजकुमार दुरालाई दोषी देखिएका छन् ।
त्यससम्बन्धी छानबिन गर्न बनेको संसदीय समितिले सभापति खतिवडा र सचिव दुरा मुख्य जिम्मेवार हुने भन्ने भाषा प्रतिवेदन सभामुख देवराज घिमिरेलाई मंगलबार बुझाएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको शंकर हलमा मंगलबार आयोजित एक कार्यक्रमबीच समितिका सभापति जीवन परियारले सभामुख घिमिरेलाई प्रतिवेदन बुझाएका हुन् ।
समितिका एक सदस्यका अनुसार प्रतिवेदनमा ‘समिति सभापति र सचिव यसमा मुख्य जिम्मेवार हुने’ भन्ने भाषा लेखिएको छ । साथै विषयगत र प्रत्यक्ष संलग्न भएकाहरू पनि यसका जिम्मेवार हुन भन्ने उल्लेख गरिएको छ । सभापतिको खतिवडाले आफ्नो भूमिका पूरा गर्न नसकेको पनि उल्लेख गरिएको छ ।
समितिले २९ दिनसम्म विभिन्न ३७ बैठक बसेर प्रतिवेदनलाई अन्तिम रुप दिएको हो । चौतर्फी विरोध भएपछि प्रतिनिधिसभाले गत असार २३ गते उच्चस्तरीय छानबिन विशेष समिति गठन गरेको थियो ।
कांग्रेसका सांसद जीवन परियार सभापति रहेको छानबिन समितिमा कांग्रेसकै सांसद सुशीला थिङ नेकपा एमालेबाट ईश्वरी घर्ती , नारायणप्रसाद आचार्य ,माओवादी केन्द्रबाट माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश पराजुली र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोशन कार्की सदस्य छन् ।
मुख्यसचिवले सभापतिलाई प्रभावित पारे !
सभापति खतिवडाले 'कुलिङ अफ पिरियड' आफूले त्रुटि नगरेको दाबी गरेका छन् । खतिवडाले प्रतिवेदनमा त्रुटि भएको स्वीकार गरे पनि आफ्नो भने त्रुटि नरहेको दाबी गरे ।उनले भने,‘ म कुलिङ अफ पिरियड राख्ने पक्षमा सुरूदेखि आजसम्म छु, भोलि पनि राष्ट्रिय सभाले यो राख्ने प्रावधान ल्यायोस् भन्ने पक्षमा छु ।’
सभापति खतिवडाले समितिको छलफलमा उपस्थित भएका विशिष्ट श्रेणी र प्रथम श्रेणीका कर्मचारीहरूले बिन्ती गर्दै कुलिङ पिरियडचाहिँ हटाइदिनुहोस् भनेको अहिले सुनाउन थालेका छन् ।
समितिले प्रतिवेदन पारित गर्ने बेलासम्म पनि मुख्य सचिव, सचिव र विशिष्ट श्रेणीका कर्मचारीहरू कुलिङ अफ पिरियड प्रावधानको विरोधमा थिए ।गत जेठ २ गतेको समितिको बैठकमा 'राजीनामा' भन्ने शब्द समेत थप गरी कुलिङ पिरियडको व्यवस्था पारित गरेको थियो ।
