
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले लक्ष्य भेटाउने गरी सिँचाइ क्षेत्रको विकासमा लाग्नुपर्ने बताएका छन् ।
जलस्रोत तथा सिँचाइ विभागको चौथो त्रैमासिक एवं वार्षिक समीक्षा गोष्ठीमा उनले कर्मचारी स्थायी सरकार भएकाले लक्ष्य भेटाउने गरी काम गर्नुपर्ने बताएका हुन् । ‘जनताप्रति उत्तरदायी भएर मुलुकलाई सम्झेर नतिजा दिनेगरी काम गरौँ,’ उनले भने ।
ऊर्जामन्त्री खड्काले वर्षेपिच्छे ठुलो ऋण लिएर राष्ट्रिय गौरवका आयोजना निर्माण गर्दै गर्दा समयमा निर्माणकार्य नहुँदा राज्यलाई ठुलो भार पर्दै गएको भन्दै समयमै काम सम्पन्न गर्ने गरी लाग्नुपर्ने बताए ।
उनले देशभर २५ लाख हेक्टरमा सिँचाइ सुविधा पुर्याउनुपर्नेमा हालसम्म १५ लाख ८६ हजार हेक्टरमा मात्र सिँचाइ सुविधा पुगेको बताउँदै प्रत्येक वर्ष १४ हजार हेक्टरमा सिँचाइ सुविधाको लक्ष्य लिँदा काममा धेरै ढिलाइ हुने बताए ।
कम्तिमा प्रत्येक वर्ष एक लाख हेक्टरमा सिँचाइ सुविधा पुर्याउने गरी काम गर्नुपर्ने उनको भनाइ छ । उनले जिम्मेवारमा बस्नेहरुप्रति प्रश्न उठ्नु स्वभाविक भएकाले समयमै काम सम्पन्न गर्नेतर्फ सबै लाग्नुपर्ने बताए ।
जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक मित्र बरालले दिगो र भरपर्दो सिँचाइ सुविधा पुर्याउने उद्देश्यका साथ स्थापना भएको विभागले आर्थिक वर्ष ०८१/८२ मा ८९.१५ प्रतिशत भौतिक प्रगति र ८१.२८ प्रतिशत वित्तीय प्रगति हासिल गरेको जानकारी दिए ।
आव ०८१/८२ मा जलस्रोत तथा सिँचाइ क्षेत्रमा ३३ अर्ब पाँच करोड रुपैयाँ बजेट विनियोजन भएकोमा २६ अर्ब ८६ करोड रुपैयाँ खर्च भएको छ । यस्तै गत आवमा ५० किलोमिटर क्षेत्रफलमा तटबन्धन, ४७० हेक्टरमा उकास गरिएको विभागले जनाएको छ ।
यस्तै विभागअन्तर्गत रहेका ६ वटा राष्ट्रिय गौरवका आयोजनाबाट दुई लाख ८७ हजार हेक्टरमा सिँचाइ सुविधा र ८२.७ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएकामा हालसम्म ६६ हजार ७१० हेक्टरमा सिँचाइ सुविधा पुग्नुका साथै ४.७१ मेगावाट विद्युत् उत्पादन हुँदै आएको छ ।