काठमाण्डौँ , भदौ ३० :

सुदूरपश्चिम प्रदेश सरकारले यही भदौ ३१ गते बजेट ल्याउने भएको छ ।

मुख्यमन्त्री कमलबहादुर शाहले आज बिहान पत्रकार सम्मेलन गर्दै भदौ ३१ गते बजेट ल्याउने जानकारी दिनुभएको हो ।

तत्कालीन मुख्यमन्त्री दीर्घबहादुर सोडारी नेतृत्वको सरकारले गत असार १ गते प्रदेश सभामा पेस गरेको बजेटमा सामान्य पुनरावलोकन गरेर चालु वर्षको बजेट ल्याउन लागिएको उहाँले बताउनुभयो ।

यसअघिकै नीति तथा कार्यक्रम सदनबाट पास भइसकेकाले त्यसैको आधारमा नै बजेट आउँने मुख्यमन्त्री शाहको भनाई छ ।

सरकारले २५ लाख भन्दामाथि सिलिङ कायम गरी योजना छनोट गर्ने, कम बजेट विनियोजन गर्नुपर्ने योजना सशर्त अनुदानको रूपमा स्थानीय तहलाई वित्तीय हस्तान्तरण गर्ने, प्रदेश सरकारबाट व्यक्ति, समूह, संस्था, निजी फर्म, कम्पनी र सहकारीलाई बजेट तोकेर विनियोजन नगर्ने र प्रदेश सरकारबाट कार्यान्वयन हुने कुनै पनि योजना उपभोक्ता समिति मार्फत नगरिने मापदण्ड बनाएको जनाएको छ ।