
राजविराज, साउन २१ :
सप्तरीको राजगढ गाउँपालिका–२ कमलपुरमा प्रदर्शनकारीमाथि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । प्रहरीको गोली लागेर स्थानीयको मृत्यु भएको घटनाको विरोध गरिरहेका प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार भएको हो । प्रहरीको अश्रुग्यास प्रहारबाट केही घाइते भएका छन् ।
मंगलबार राति प्रहरी र स्थानीयबीच झडप हुँदा प्रहरीले चलाएको गोली लागेर अन्दाजी ३६ वर्षीय लालु यादवको मृत्यु भएको थियो । प्रहरी झडपलाई नियन्त्रणमा लिन तीन राउन्ड गोली चलाएको थियो ।
सो घटनाको विरोध गर्दै आज बिहानैदेखि आफन्त र स्थानीयले जिल्ला प्रहरी र जिल्ला प्रशासन कार्यालय अगाडि टायर बालेर प्रदर्शन गरिरहेका छन् ।प्रहरीले ज्यादती गरेको भन्दै घटनाको निष्पक्ष छानबिन हुनुपर्ने माग गर्दै दिउँसो प्रदर्शनमा उत्रिएका थिए।