काठमाडौं, साउन २२ :

नेकपा एमालेकी सांसद एवं पूर्वमन्त्री  विद्या भट्टराईले शिक्षक महासंघका नेतृत्वलाई पेशाप्रति जिम्मेवार बनाउनुपर्ने बताएकी छिन् ।

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयकमाथिको छलफलमा बोल्दै सांसद भट्टराईले यस्तो बताएकी हुन् । नेतृत्वले शिक्षण नगर्ने तर शिक्षक नेता हुँ भन्दै हिड्ने परिपाटीले शिक्षामा गुणस्तरीयता आउन नसक्ने बताइन् । उनले शिक्षक महासंघका नेतृत्वलाई पनि निश्चित समयका लागि शिक्षणका लागि काजमा पठाउन आवश्यक रहेको बताइन् ।

उनले भनिन्, ‘नेपाल शिक्षक महासंघका पदाधिकारीहरुलाई पनि पेसागत रुपमा जिम्मेवार बनाउनुपर्छ । शिक्षक नेता हुँ भन्ने तर शिक्षण नगरेर हुँदैन । यसरी शिक्षामा गुणस्तरीयता आउँदैन ।’

परामर्श उपसमितिले प्रस्ताव गरेअनुसार नेपाल शिक्षक महासंघको पदाधिकारीलाई काजमा राख्दा नेपाल सरकारले बालबालिकाको पठनपाठनलाई असर नपर्नेगरी वैकल्पिक शिक्षकको व्यवस्था गरी राख्नुपर्ने प्रस्ताव गरेको छ ।

नेपाल शिक्षक महासंघले वर्षभरी विद्यालय शिक्षाको गुणस्तर सुधार, शिक्षकको पेशागत क्षमता अभिवृद्धि लगायतका विषयमा सम्पादन गरेका रचनात्मक क्रियाकलाप समावेश भएको वार्षिक प्रतिवेदन आर्थिक वर्ष समाप्त भएको मितिले तीन महिनाभित्र मन्त्रालय समक्ष पेस गर्नुपर्ने प्रस्ताव समेत गरेको छ ।