
बुटवल-नारायणगढ खण्ड पुन: अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका २, दाउन्ने खण्ड अवरुद्ध भएको हो ।
दाउन्नेको ६५ मोडनजिकै वर्षाका कारण सडक हिलो र चिप्लो भई गाडी फसेकाले आवागमन बन्द भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रहरी उपरीक्षक यादव ढकालले बताए ।
लगातारको वर्षाले गत सोमबार बिहानदेखि अवरुद्ध भएको दाउन्ने खण्ड केही समय सञ्चालन हुँदै पुन:अवरुद्ध हुने गरेको छ ।
आज बिहानदेखि सडक पुन:अवरुद्ध भएको प्रहरी उपरीक्षक ढकालले जानकारी दिए ।
दाउन्ने खण्डमा सडक अवरोध भएका कारण सवारी आवागमनमा समस्या भएको र मर्मत गरी सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । विनयी त्रिवेणी गाउँपालिका २, विश्वकर्मा मन्दिर नजिकैको बाटोमा निरन्तर अवरोध हुँदै आएको छ ।
बुटवल-नारायणगढ सडकखण्ड विस्तारका क्रममा दाउन्ने पहाड कटान गरिएकाले यस क्षेत्रमा सामान्य वर्षमा पनि सडक अवरुद्ध हुने गरेको छ ।