काठमाडौं, साउन २३ :

इजरायलका रक्षा मन्त्रीले गाजा सिटी नियन्त्रण गर्ने योजनाको अन्तर्राष्ट्रिय आलोचनालाई अस्वीकार गरेका छन् । यसले गाजा सिटी नियन्त्रण गर्ने अडानलाई कमजोर नपार्ने समेत बताएका छन् ।

इजरायली मन्त्री इस्राइल काट्जले सरकार युद्धको लक्ष्य हासिल गर्न दृढ रहेको बताएका छन् । उनले इजरायली रक्षा सेनाले उक्त योजना कार्यान्वयन गर्न तयारी गरिरहेको समेत बताएका छन् ।

यस कदमको संयुक्त राष्ट्रसंघ र बेलायत तथा जर्मनीसहितका विश्व नेताहरूबाट आलोचना भएको छ ।  जर्मनीले त गाजातर्फ जान लागेका सैन्य उपकरणहरूको निर्यातसमेत निलम्बन समेत गरेको छ।

यसबीच हमासले भने कडा प्रतिरोध गर्ने घोषणा गरेको छ।

गाजामा फिलिस्तीनीहरू थप विनाश र विस्थापनको डरमा छन् ।  तिनीहरू धेरैजना इजरायलसँग मात्र होइन  हमासप्रति पनि आक्रोशित भएका छन्।
प्रधानमन्त्री बेन्जामिन नेतन्याहु अझ बलियो भएका देखिएको र जोखिम लिन तयार छन् । इजरायलको यो निर्णयले गाजा सिटीका दस लाख सर्वसाधारणको भविष्य अहिले झनै अन्धकारमय देखिन्छ।

इजरायली सरकारले कुनैपनि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूलाई गाजामा स्वतन्त्र रूपमा रिपोर्टिङ गर्न अनुमति दिएको छैन।

गाजा सिटीलाई नियन्त्रणमा लिन नेतन्याहुको योजना र युद्ध अन्त्यका लागि पाँच सिद्धान्त

शुक्रबार बिहान सबेरै जेरुशलेममा घण्टौँसम्म चलेको इजरायलको सुरक्षा मन्त्रिपरिषद्को बैठकपछि प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालयले गाजा सिटी नियन्त्रण गर्ने योजनालाई स्वीकृति दिएको एक विज्ञप्ति मार्फत सार्वजनिक गरेका हुन् ।

विज्ञप्तिमा भनिएको छ सुरक्षा मन्त्रिपरिषद्ले बहुमतले योजनालाई अंगीकार गर्दै युद्ध अन्त्यका लागि पाँच आधारभूत सिद्धान्तहरू पनि पारित गर्‍यो।
आईडीएफ (इजरायली रक्षा सेना) गाजा सिटीको नियन्त्रण लिन तयारी गर्नेछ भने युद्ध क्षेत्रबाहिर रहेका सर्वसाधारणहरूलाई मानवीय सहायता उपलब्ध गराइने विज्ञप्तिमा उल्लेख गरिएको छ।

हमासको निरस्त्रीकरण,सबै बन्धकहरूको फिर्ता जसमा जीवित र मृत दुवै छन्, गाजा पट्टीको निरस्त्रीकरण,गाजा पट्टीमा इजरायली सुरक्षाको नियन्त्रण,हमास वा प्यालेस्टाइन अथJरिटी नभएको वैकल्पिक नागरिक सरकारको स्थापनालाई ईजरायलले युद्ध अन्त्यका लागि सिद्धान्तहरु राखेको छ ।

सुरक्षा मन्त्रिपरिषद्को योजना एक विपत्ति भएको इजरायली विपक्षी नेताको प्रतिक्रिया

इजरायलका विपक्षी नेता यायर लापिडले गाजा सिटी कब्जा गर्ने सुरक्षा मन्त्रिपरिषद्को निर्णयलाई "एक विपत्ति" भन्दै यसले "अझ धेरै विपत्तिहरू निम्त्याउनेछ" भनेका छन्। उनका अनुसार गाजा सिटी कब्जाले बाँकी रहेका बन्धकहरूको मृत्यु र धेरै इजरायली सैनिकहरूको ज्यान जान सक्छ।

उक्त योजना "सैन्य र सुरक्षा निकायहरूको धारणा विपरीत पूर्ण रूपले विपरित छ",लापिडले थपे। लापिडले प्रधानमन्त्री नेतन्याहुले अतिवादी सुरक्षामन्त्रीहरू इटामार बेन-गभीर र बेजालेल स्मोटरिचको दबाबमा झुकेको आरोप लगाएका छन्।

शनिबार आपतकालीन बैठक बोलाउने संयुक्त राष्ट्र सुरक्षा परिषद्को निर्णय 

संयुक्त राष्ट्र सुरक्षा परिषद्का सदस्यहरू अमेरिका र पानामाबाहेक अन्य सबै सदस्यहरुले इजरायलले गाजा सिटी नियन्त्रणमा लिने योजना सार्वजनिक गरेपछि आपतकालीन बैठकको माग गरेका छन्।

अब सुरक्षा परिषद्ले शनिबार न्यूयोर्कमा आपतकालीन बैठक गर्नेछ।

संयुक्त राष्ट्र महासचिवका प्रवक्ताले बताएका छन् कि एन्टोनियो गुटेरेस इजरायली सरकारले "गाजा सिटी नियन्त्रणमा लिने" निर्णयप्रति गम्भीर रूपमा चिन्तित छन्।

यो निर्णयले "खतरनाक तनाव वृद्धि गर्नेछ र लाखौँ फिलिस्तीनीहरूका लागि  विनाशकारी परिस्थितिलाई अझ गहिरो बनाउने जोखिम बढ्ने प्रवक्ताले बताए ।