
जिल्ला प्रहरी कार्यालय कास्कीले करिब ६.४ किलो अवैध सुनसहित ११ जना भारतीयलाई पक्राउ गरेको छ ।
उनीहरूको साथबाट ४४४ तोला चाँदी र ५ लाख १४ हजार ६६५ रुपैयाँ पनि बरामद भएको प्रहरीले जनाएको छ। बरामद सुनको बजार मूल्य करिब १० करोड ९७ लाख रुपैयाँ छ ।
प्रहरी उपरीक्षक (एसपी) श्यामबाबु ओलियाका अनुसार पक्राउ परेका सबैलाई आवश्यक कारबाही तथा थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइनेछ ।
गोप्य सूचनाका आधारमा शुक्रबार दिउँसो ४ बजेदेखि पोखरा महानगरका वडा नम्बर २, ३, ४ र ९ का क्षेत्रमा अपरेसन सुरु गरिएको थियो । रातभर चलाएको कारबाहीमा अवैध सुनचाँदीको कारोबारमा संलग्न भएको आरोपमा भारतीय पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा राजेन्द्र रामचन्द्र जगताप , मनिकलाल आदक , सन्दीप ढाव , सोमनाथ पाल , दीपक सामन्त , गोविन्दा दिण्डा , असित वर , तापस सामन्त , उज्वल भोमिक , सुनिता पवार र प्रोभास माझी रहेका छन् ।
प्रहरीका अनुसार पक्राउ परेका सबै कोलकाता र पश्चिम बङ्गालका बासिन्दा हुन् ।