काठमाडाैं, साउन २४ :

 राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद तोसिमा कार्कीले रिक्त सहमहामन्त्री पदमा आफ्नो कुनै दाबी नभएको स्पष्ट गरेकी छन्। उनले पार्टीको केन्द्रीय समिति बैठकमा उठाएको कुरा व्यक्तिको विरोध नभई विधिसम्बन्धी प्रश्न भएको बताइन्।

कार्कीका अनुसार, बैठकको एजेन्डामा नभएको निर्णय प्रस्ताव आएपछि आफू र केही नेताहरूले त्यसलाई अस्वीकार गरेका थिए। उनले रिक्त सहमहामन्त्री पदमा इच्छुक र योग्य महिलालाई विधिसम्मत रूपमा नियुक्त गर्नुपर्ने मत व्यक्त गरिन्।

‘मैले प्रस्तावित व्यक्तिको विरोध गरेको होइन, प्रस्ताव र निर्णयको विधि सच्याउन आग्रह गरेको हुँ,’ कार्कीले भनिन्।

सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममा आफूलाई पद-लोलुपको रूपमा चित्रण गरिएको भन्दै कार्कीले आपत्ति जनाइन्। ‘म सांसद निर्वाचित भएर आएको हुँ, कुनै पदमा दाबी गर्नुपरे म चुनावमार्फत आउनेछु,’ उनले स्पष्ट पारिन्।

कार्कीले रास्वपालाई आन्तरिक लोकतन्त्र र विधिमा विश्वास गर्ने पार्टीका रूपमा वर्णन गर्दै पार्टीभित्रका पदाधिकारीहरू पनि चुनावमार्फत निर्वाचित हुनुपर्ने आफ्नो अडान दोहोर्याइन्।

सह–कोषाध्यक्ष दीपक बोहोरालाई सहमहामन्त्री बनाउने प्रस्ताव अकस्मात् अघि सारिएपछि रास्वपामा असहज स्थिति पैदा भएको छ ।  रिक्त पदमा हाल थुनामा रहेका सभापति रवि लामिछानेका विश्वास पात्र मानिने सहकोषाध्यक्ष बोहोरालाई बढुवा गर्न खोजिएको हो । सुमना श्रेष्ठले राजीनामा दिएकाले उक्त पद खाली रहेको छ ।